एटा संवाददाता
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा चुनावी सरगर्मी बढ्दै गएको छ । एनआरएनए यूकेको गत आइतबार ३० जुनका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न १२ औं बैठकमा सो संकेत देखा परेको हो ।
आगामी १४ सेप्टेम्बरका दिन नयाँ कार्यसमिति चयनका लागि मिति घोषणा भइसकेको अवस्थामा बैठकले एनआरएनए यूकेको नयाँ सदस्यता लिन चाहने वा नवीकरण गर्न चाहनेहरुले आगामी ३१ जुलाई भित्र सदस्यता शुल्क तिरेको प्रमाणसहित एम्पायरस्थित एनआरएनए कार्यालयमा फाराम बुझाईसक्नु पर्ने निर्णय गरेको छ ।
साथै, नयाँ सदस्यता दर्ता तथा वितरण प्रकृयालाई सहज बनाउनका लागि १ जुलाईदेखि ३१ जुलाईसम्म बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कार्यालय खुल्ला गर्नेसमेत जनाइएको छ ।
त्यस्तै, बैठकले विधान संशोधन समिति, अध्यक्ष मण्डल र निर्वाचन समितिमा रहेर काम गर्न ईच्छुक बेलायतवासी नेपाली दाजुभाइ, दिदीबहिनीहरुले आउँदो शुक्रबार ५ जुलाईभित्र कार्यसमितिलाई आप्mनो नाम पठाउन समेत आव्हान गरेको छ ।
ईच्छुक व्यक्तिहरुबाट नाम प्राप्त भएपछि कार्यसमितिले उनीहरुको अनुभवको आधारमा विभिन्न समितिमा चयन गरिने समेत निर्णय गरिएको अध्यक्ष योगकुमार फगामीले जानकारी
दिएका छन् ।
बैठकले एक एनसीसी, एक परियोजनाको अवधारणा अनुरुप नेपालमा घुम्ती ब्लड सेवा संचालनमा सहयोग गर्न आगामी २६ जुलाई बेलुकी अल्डरसटस्थित एम्पायर हलमा एक रात्रिभोजको आयोजना गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले संरक्षक योगेन क्षेत्रीको संयोजकत्वमा रहेको विधान संशोधन समितिको सचिवमा वाचस्पति रेग्मीलाई चयन गरेको छ ।
त्यस्तै, बैठकमा एनआरएनए युकेका २०१९–२०२१ का अध्यक्ष पदका प्रत्याशी उम्मेदवारहरु प्रेम गाहा मगर, शेरबहादुर सुनार, सुशीला राई र ललित न्यौपानेले संयुक्त रुपमा हस्ताक्षर गरेको एक संयुक्त प्रेस विज्ञप्ति अध्यक्ष फगामीलाई
बुझाएका छन् ।
उनी विज्ञप्तिमा राष्ट्रिय महाधिवेशन संचालन नियमावली २०१९ को उलंघन हुनेगरी आईसीसी सदस्य रामशरण सिम्खडाले कुनै एक उम्मेदवारको पक्षमा लविङ्ग गर्दै हिँडेको आरोप लगाएका छन् ।
सो बैठकमा एनआरएनए युके संरक्षक योगेन क्षेत्री, आईसीसी सदस्य सुस्मा राई, राज्य समन्वय परिषद स्कटल्याण्ड अध्यक्ष मोहन कार्की, नर्दन आयरल्यान्ड अध्यक्ष लिलाराम निउरे, वेल्स अध्यक्ष रामचन्द्र पोखरेल लगायतको बिशेष उपस्थिति रहेको थियो ।
एनआरएनए युके अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा बसेको बैठकलाई महासचिव राजकुमार त्रिपाठीले संचालन गरेका थिए ।






