गोपाल थापा
आसफोर्ड, केण्ट । यूके मगर संघ केन्ट शाखाको भेटघाट कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्न भएको छ ।
गत शनिबार १३ जुलाईमा दक्षिण पूर्वी सुन्दर नगरी डोभर सहरको स्थानीय खेल मैदानमा रहेको सुविधायुक्त सैनिक भवनको बैठक कक्षमा सो कार्यक्रम सम्पन्न भएको हो । केन्टमा छरिएका सम्पूर्ण मगर बन्धुहरुलाई एकैथलोमा जमघट गराईे दुःख र सुख साटासाट, आपसी सद्भाव तथा सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सानादेखि ठूलासम्म सबै मगर भेषभुषामा सजिएर केन्ट मगरवासीहरु सहभागी भएका थिए ।
केन्ट शाखाका अध्यक्ष रामबहादुर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव कमारे बुढाले आमन्त्रित विभिन्न अतिथि लगायतलाई आसन ग्रहण गराई स्वागत मन्तव्य व्यक्त गरे । उनले स्वास्थ्य र सुरक्षासम्बन्धी पालना गर्नुपर्ने विषयमा पनि जानकारी गराएका थिए ।
पहिलो चरणमा औपचारिक रुपमा कार्यक्रमको शुभारम्भ समाजका अध्यक्ष, उपाध्यक्ष र मुख्य अतिथिका साथमा नेपाली र अंग्रेजी राष्ट्रिय गानको साथ अगाडि बढाइएको थियो । क्रमिक रुपमा संस्थाका अध्यक्ष पुन, निवर्तमान अध्यक्ष्य उत्तरबहादुर मगर, मुख्य अतिथि घन थापा र महिला संघ यूकेका अध्यक्ष सीता पुनले पनि बोलेकी थिइन् । दोस्रो चरणमा समाजका आजीवन सदस्य, पहिलो गोर्खा सैनिकका मगर सदस्यहरुलाई दोसल्ला ओढाई स्वागत अनि सम्मान गरिएको थियो । विभिन्न विषयमा सफलता प्राप्त गर्ने उत्कृष्ट व्यक्तिहरुलाई समुदायको तर्फबाट हार्दिक धन्यवादको साथमा प्रमाण पत्र र खादा ओढाई सम्मान गरिएको थियो ।
त्यस्तैगरी संस्थाप्रति सदैव सद्भाव र सहयोग गर्ने बाल कलाकारहरुलाई पनि केही उपहारको साथ सम्मान गरिएको थियो । कार्यक्रमपश्चात् सदाझंै यस वर्ष पनि सामूहिक तस्बिर क्यामरामा कैद गरिएको थियो ।
दोस्रो चरणपश्चात खेलकुद सचिव डिल्लीराज थापामार्फत उत्सुक दाजुभाइ तथा दिदीबहिनीहरुलाई विभिन्न खेल खेलाई भरपुर मनोरञ्जन दिनुका साथै व्यायामबाट स्वास्थ्यमा फाइदा हुने विषयमा प्रकाश पारेका थिए । त्यसपछि कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाउने जिम्मा पाएका उद्घोषिका सजना थापाले मनोरञ्जनात्मक कार्यक्रमको बीच–बीचमा रमाइला चुट्किला, कविता र मुक्तक वाचन गरी कार्यक्रमलाई थप उर्जा दिएका थिए ।
कलाकारहरुले एकल र सामूहिक गीत तथा नाच प्रस्तुत गरेका थिए । जसमा कलाकारहरुमा स्ईज्मी थापा, रिया थापा, थिर थापा, ईकिशा सारु, अनिका सारु मगर, सन्नी थापा, विवेक मोक्तान, नीराजन थापा, सिद राई, ओसियन गौचन, आभाष मगर र तिर्सना थापा रहेका थिए । साथै गीतपश्चात् संस्थाका बाल कलाकारहरुले आ–आफ्ना उत्कृष्ट नृत्य प्रस्तुत गरी दर्शकलाई भव्यताका साथ मनोरञ्जन दिएका थिए ।
तेस्रो चरणमा कार्यक्रममा अझ थप दर्शकलाई रमाइलोको उर्जा शक्ति बढाउन नेपालबाट आएकी स्वरकी धनी लोक तथा दोहोरी गायिका भूमिका गिरि र गायक कुमार पुनले बबाल धमाका प्रस्तुतिका साथै दर्शकका बारुले कम्मरसमेत मर्काईमर्काइ नचाउन सफल भएका थिए । त्यसै क्रममा उनीहरुबीच घम्साघम्सी दोहोरी प्रतिस्पर्धा भएको थियो ।
कार्यक्रमको अन्तमा संस्थाका अध्यक्षले यस वर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र सम्पूर्ण आगन्तुकलाई धन्यवाद दिँदै अर्को वर्ष यसरी नै कार्यक्रमलाई सफल पारीदिन भेट्ने वाचा गरेका थिए ।






