
एटा संवाददाता ।
लण्डन । सहारा युकेले थ्री स्टार फुटबल क्लवका कप्तान एवं नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान बिक्रम लामाको स्वागत गरेको छ । नेपाली राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडि संघ युके च्याप्टरको निमन्त्रणामा बेलायत आएका राष्ट्रिय खेलाडि लामालाई २२ जुलाई सोमबार साँझ अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा स्वागत गरिएको हो । उनलाई सहारा युके अध्यक्ष कुमार गुरुङले मायाको चिनो सहित खादा लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय खेलाडि लामाले सहारा युके फुटबल खेलाडिहरुका लागि सहारा संगसंगै अभिभावकको भूमिका खेल्दै आएको बताउदै आफूलाई स्वागत गरेकोमा धन्यवाद दिए । उनले विदेशमा बसेर सहारा युकेले नेपाली फुटबलको बिकासमा पु¥याउदै आएको भूमिकाको प्रसंशा गरे । सो अवसरमा उनले सहारा युके अध्यक्ष लगायत सहारा युकेलाई थ्री स्टार क्लव अंकित मायाको चिनो प्रदान गरे । त्यस्तै, सहारा युके अध्यक्ष कुमार गुरुङले सहारा युके बारे जानकारी दिदै आउदो शनिबार २७ जुलाईका दिन फार्नबारोस्थित कोप फुटबल स्टुडियममा ओपन डेको आयोजना गर्न लागिएको, सहारा युकेले युकेमा सहारा एकेडेमीको स्थापना गर्न लागिएको र आगामी ३० मे २०२० का दिन नेपाली राष्ट्रिय फुटबल टिम तथा बेलायतको फुटबल टिमबीच इण्ल्याण्डमा म्याच हुने निश्चित भैसकेको बताए । साथै, उनले सो खेलको तयारीका लागि इण्ल्याण्ड फुटबल क्लव (एफए), हमसायर एफए, युके नेपाली फ्रेन्डसीप सोसाईटी, नेपाली राजदूतावास, आर्मी फुटबल क्लब र नेपाली राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडि संघ युके च्याप्टर र सहारा युकेबीच आवश्यक छलफल र बैठक भैरहेको जानकारी दिए ।
त्यस्तै, सो कार्यक्रममा सहारा युके संस्थापक अध्यक्ष नविन गुरुङ र निवर्तमान अध्यक्ष मिन गुरुङले सहारा युकेले गर्दै आएका विभिन्न कार्यहरु बारे जानकारी गराएका थिए । त्यस्तै, नेपाली राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडि संघ युके च्याप्टर अध्यक्ष सिद्धार्थ बिक्रम क्षेत्रीले आफ्नो संस्था र राष्ट्रिय खेलाडि लामाको बेलायत भ्रमण बारे जानकारी दिए ।

कार्यक्रममा सहारा एफसी पूर्व अध्यक्ष हरि कुमार श्रेष्ठ, एफसी सचिव कुमार थापा, अल्डरसट फुटबल क्लव पूर्व डाईरेक्टर मेग गुरुङ, पूर्व राष्ट्रिय खेलाडीहरु ओम गुरुङ, अनिल गुरुङ, प्रकाश खड्का, पत्रकार नविन पोखरेल, फोटो पत्रकार मिलन तमु, सल्लाहकार तथा तमु धिं युके वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङ, सल्लाहकार कमल गुरुङ, कृष्ण गुरुङ, डिलरास गुरुङ लगायतको बिशेष उपस्थिति रहेको थियो । सहारा युके अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त स्वागत कार्यक्रममा उपाध्यक्ष ले. कुसाङ्ग गुरुङले स्वागत मन्तब्य दिएका थिए भने सचिव वाचस्पति रेग्मीले कार्यक्रम संचालन गरेका थिए ।






