एटा संवाददाता
लन्डन । श्रृजनशिल नेपाली समाज यूकेका निवर्तमान अध्यक्ष धनबहादुर सार्कीले एनआरएनए यूकेको नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी घोषणा गरिरहेको क्रममा सार्कीले ७ बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
घोषणासभामा उपाध्यक्षका प्रत्याशी सार्कीले, आफू ‘एक साधारण, गरिब किसानको छोरो हुँ’ भन्दै आफूले १५ वर्ष ब्रिटिस गोर्खा आर्मीमा सेवा गरेको र ‘गोर्खा आन्दोलन’ मा समेत सहभागी भएको स्मरण गर्दै विभिन्न सामाजिक संघसंस्थामा विभिन्न पदमा बसेर काम गरेको जानकारी दिए ।
उनले, ‘मसँग धेरै धन र ज्ञान छैन । तर, समुदायले मेरो नैतिकता, इमान्दारिता, मिहेनत, मिलनसार व्यवहार देखेको छ, बुझेको छ’ र ‘यो संगठनलाई अझ सशक्त र समावेसी बनाउने जिम्मा हाम्रै हो’ भन्दै अमूल्य मत दिई आफूलाई एक मौका दिन सबैमा हार्दिक अनुरोध गरे ।
उनले आफ्नो प्रतिवद्धतामा आफ्नो कर्तव्य, गैरआवासीय नेपाली संघ यूकेको सदस्यता बढाउन आवश्यक पहल गर्ने, गैरआवासीय नेपाली संघ यूकेको हैसियतले गर्नुपर्ने कर्तव्य पूरा गर्ने, गोर्खाहरुको समस्याको समाधानका लागि आवश्यक भूमिका खेल्ने, नेपाली नागरिकताको निरन्तरताका लागि लागीपर्ने, गैरआवासीय नेपाली संघलाई सुन्दर चौतारीको रुपमा विकसित गर्ने लगायतका बुँदा समेटेका छन् ।
कार्यक्रममा एनआरएनए आईसीसी सदस्य शान्ति थापा, तमुधिं अध्यक्ष नन्दजङ्ग गुरुङ, काउन्सिलर प्रवेश केसी, गेनोर अस्टिन, मगर संघ यूके उपाध्यक्ष छविमाया पुन, मगर संघ यूके सल्लाहकार नरमति पुन, मेजर समुन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ यूके सचिव शिव भण्डारी लगायतको उपस्थिति थियो । उपस्थित सहभागीहरुले उपाध्यक्ष प्रत्याशी धन सार्कीलाई शुभकामना दिएका थिए । बेलायतस्थित पत्रकारहरुको समेत उपस्थिति रहेको कार्यक्रमलाई खुसी लिम्बुले सञ्चालन गरेका थिए ।






