एटा संवाददाता
लन्डन । एनआरएनए यूकेमा १३ हजार ८९० जनाले सदस्यताका लागि आवेदन दिएका छन् । उक्त कुरा बुधबार राति अल्डरसट एम्पायर हलस्थित एनआरएनए यूकेको कार्यालयमा निर्वाचन मण्डलका प्रमुख आयुक्त मेजर डमर घले एमबिईले जानकारी दिएका छन् ।
आगामी १४ सेप्टेम्बर २०१९ मा हुन लागेको नयाँ कार्यसमितिको निर्वाचनलाई लक्षित गरी सदस्यता आब्हान गरेकोमा ३१ जुलाई २०१९ साझ ८ बजे सम्म फारममार्फत १३ हजार ३४३, अनलाईनमार्फत ३१६ तथा पोस्टल एवं राज्य परिषदबाट प्राप्त १९४ गरि कुल १३ हजार ८९० सदस्यताका लागि फारम प्राप्त भएको प्रमुख आयुक्त घलेले बताए । उनले प्राप्त आवेदन र संलग्न कागजातहरु छिट्टै रुजु गरिने जानकारी दिदैे १३९८० भन्दा बढी सदस्य नहुने विश्वास व्यक्त गरे । सो अवसरमा एनआरएनए युके अध्यक्ष योगकुमार फगामीले सदस्यता बनाउन बिशेष भूमिका खेल्ने सबैप्रति धन्यवाद दिए ।
एनआरएनए युकेको वर्तमान कार्यसमितिले १० हजार सदस्यता पुर्याउने योजना बनाएको थियो । तर सो भन्दा बढी सदस्यता बनाउन वर्तमान कार्यसमिति सफल भएको छ । वर्तमान कार्यसमितिका उपाध्यक्षहरु पुनम गुरुङ, शेरबहादुर सुनार, प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपानेले छुट्टाछुट्टै घोषणासभाको आयोजना गरी आगामी कार्यसमितिको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दै सदस्यता बनाउने अभियानमा जुटेका थिए । सोही परिणाम स्वरुप १३८९० सदस्यता बनाउन सफल भएका हुन् ।
एनआरएनए युकेका अध्यक्ष लगायत विभिन्न पदका आकांक्षीहरुको समेत बिशेष उपस्थिति रहेको सो कार्यक्रममा निर्वाचन मण्डलको उपप्रमुख आयुक्त शिवजी श्रेष्ठ लगायत अन्य आयुक्तहरुको समेत उपस्थिति रहेको थियो । एनआरएनए युकेको आगामी १४ सेप्टेम्बर २०१९ का दिन सम्पन्न हुन लागेको निर्वाचनमा यिनै १३८९० जना सदस्यले मतदान गर्नेछन् । एनआरएनए युकेको इतिहासमा यतिधेरै नेपालीले सदस्यताका लागि पहिलोपटक निवेदन दिइएको जनाइएको छ । साथै, विश्वभर रहेको एनसीसी मध्ये बढी सदस्यता बनाउने एनसीसी बेलायत भएको धेरैको दावी छ ।






