तिम्बुङ पोखरीमा निर्माण भएको मन्दिरको विरोध

SHARE:

अमित याक्थुम्बा
लन्डन (बेलायत) । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा अवस्थित तिम्बुङ पोखरीमा निर्माण भइरहेको मन्दिरलाई लिएर लिम्बु समुदायबाट विरोध हुनेक्रम जारी रहेको छ । १८ वटा आदिवासीय संघ संस्थाहरूले विरोध जनाएको केही समय नबित्दै लिम्बु समुदायका विभिन्न सङ्गठनहरूले आफ्नो संस्थागत धारणा सार्वजनिक गर्दै निर्माण कार्यप्रति आक्रोश पोखेका छन् ।

परम्परागत याक्थुङ संस्कार संस्कृतिको वकालत गर्दै आएको युमा साम्यो महासभा नेपालले गत साउन ११ गते विज्ञप्ति जारी गर्दै तिम्बुङ वरक (पोखरी) एक महत्वपूर्ण मुन्धुमी स्थल भएको जनाएको छ । ‘मन्दिर निर्माण कार्यले परापूर्वकालदेखि एक प्राकृतिक शक्तिका रूपमा पूजाआजा गरिने याक्थुङ समुदायको परम्परागत आस्था र विश्वास उपर गम्भीर आँच पुगेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्य या अन्य पक्षले विकासका परियोजनाहरू अगाडि बढाउँदा सरोकारवाला समुदाय र संघसंस्थाहरूको सहभागिताले मात्र परियोजना विवादरहित बनाउन सक्छ ।’ अध्यक्ष देवेन्द्रकुमार वनेमद्वारा हस्ताक्षरित विज्ञप्तिमा तिम्बुङ पोखरीको नाम परिवर्तन हुने गरी भइरहेको चलखेलप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

यसैगरी, युमा साम्यो महासभा अन्तर्राष्ट्रिय समन्वय समितिले पनि प्रेस विज्ञप्ति जारी गरेर मन्दिर निर्माणको विरोध गरेको छ । १२ राष्ट्रहरूको सञ्जालका रूपमा रहेको समितिका अध्यक्ष लोकेन्द्र तबेबुङ र महासचिव धनराज साम्याङ्खामको हस्ताक्षरमा प्रकाशित भएको विज्ञप्तिमार्फत् विष्णु मन्दिरको निर्माणले सांस्कृतिक हस्तक्षेप निम्त्याएको आरोप लगाएको छ । त्यस्तै, युमा साम्यो महासभा यूकेका अध्यक्ष टङ्क वनेमले पनि वक्तव्य जारी गर्दै प्राकृतिक र मुन्धुमी सम्पदाका रूपमा रहेको तिम्बुङ वरकमा कुनै पनि भौतिक संरचना निर्माण गरिनु राष्ट्रिय कानुन ऐन र अन्तर्राष्ट्रिय सन्धिहरू विपरीत रहेको ठहर गरेको छ । ‘मन्दिर बनाउने कार्य प्राकृतिक सम्पदालाई यथावत् अवस्थामै संरक्षण गर्नुपर्ने विश्वव्यापी मान्यता, आईएलओ अभिसन्धि १६९, यूएनड्रिप, स्थानीय सरकार सञ्चालन ऐन २०७४, सर्वोच्च अदालतले २०७४ कात्तिक ८ मा जारी गरेको परमादेशविपरीत छ,’ विज्ञप्तिमा उल्लेख छ । युमा साम्यो महासभा मलेसियाका अध्यक्ष उदय चोङवाङ क्याक र सचिव सुमन येक्तेन समेतले विज्ञप्ति जारी गरेर आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

त्यसैगरी, लिम्बुवान नागरिक समाज यूकेले समेत लिम्बुवान क्षेत्रमा भइरहेको सांस्कृतिक हस्तक्षेपले समाजमा विग्रह ल्याउने धारण सार्वजनिक गरेको छ । समाजका अध्यक्ष छत्र वनेम र महासचिव लाहाङ चेम्जोङले जारी गरेको विज्ञप्तिमार्फत् संवाद, समझदारी र सहमतिमार्फत् अघि बढ्न राज्यका निकायलाई आग्रह गरेको छ ।

तिम्बुङ पोखरीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ५० लाख रूपैयाँ र सिदिङ्वा गाउँपालिकाको पाँच लाख रूपैयाँ लागतमा मन्दिर निर्माण भइरहेको छ । सामाजिक सञ्जालमार्फत विष्णु मन्दिरका रूपमा यहीँ नाग पञ्चमीका दिन उद्घाटन हुने कुरा सार्वजनिक भएपछि एकाएक विरोध र आलोचना सुरु भएको थियो । बुधबारमात्रै संयुक्त बैठक बसेर चुम्लुङ नेपाल, कियाचु लिम्बु सांस्कृतिक परिषद, लिम्बु विद्यार्थी मञ्च, लिम्बुवान स्प्रिङ आन्दोलन, याक्थुङ युवा मञ्च, याक्थुङ लेखक सङ्घ, बेघा समाज, माङ्मू समाज, खुदाङ समाज लगायत संस्थाले पोखरी परिसरमा निर्माण भइरहेको संरचना हटाउन माग गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!