केन्टका गतिविधि मिडियामा कम आएको गुनासो

SHARE:

लन्डन । नेपाली समुदायको उल्लेख्य बसोबास र बाक्लै गतिविधि हुने गरे पनि स्थानीय नेपाली मिडियामा आफूहरुका गतिविधि कम समेटिएको गुनासो केन्टवासी नेपालीले गरेका छन् ।

नेपाल पत्रकार महासंघ यूकेले आइतबार आसफोर्डको स्टानहोप पेरिस हलमा आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा उनीहरुले सो गुनासो गरेका हुन् । मेडस्टोन बोरोका काउन्सिलर दिनेश खड्काले लन्डन ओलम्पिकका बेला नेपालबाट आएका छ जना खेलाडीलाई केन्ट काउण्टीले आवासको प्रबन्ध गर्दा अंग्रेजी मिडियामा समाचार आए पनि नेपालीमूलका स्थानीय मिडियामा भने समाचार नआएको सन्दर्भ कोट्याए । उनले बेलायतमा कार्यरत पत्रकारहरुलाई समाजलाई सकारात्मक सन्देश दिन्छ भने नकारात्मक घटनाका समाचारहरु प्रकाशनमा ल्याउन नडराउन पनि आग्रह गरे । समाचारमा नयाँपन ल्याउन र सस्तो लोकप्रियता कमाउने मिडियालाई सार्वजनिक गर्न पनि उनले पत्रकारहरुलाई सुझाव दिए ।
फोल्कस्टोन नेपाली समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङले आफूहरुले अलि ओझेलमा परेको महसुस गरेको बताए । हरेक पत्रपत्रिका, मिडिया लन्डन र अल्डरसटकै समाचारले भरिने गरेको पाउने गरेकोमा यस्ता अन्तक्रियाले सबै पक्षलाई समेट्न सघाउने विश्वास व्यक्त गरे । आसफोर्डस्थित सगरमाथा गोरखा नेपाली कम्युनिटीका अध्यक्ष चक्रबहादुर राईले बेलायतमा पत्रकारको अवस्था कस्तो छ, उनीहरुले के कस्तो सुविधा पाउँछन् भन्ने जिज्ञासा राख्दै मिडिया र पत्रकारहरुसित अन्तक्रिया गर्न र सघाउन आफ्नो कम्युनिटी सदैव तयार रहेको बताए ।

तमुधिं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङले नेपालमा पनि रोल्पा, डोल्पाका समाचार कम आउने प्रसंग उल्लेख गर्दै समाचारको मूल्य हुने कार्यक्रम बनाउन समुदायका अगुवाहरुलाई सुझाव दिए । यहाँ सञ्चालित मिडिया र कार्यरत पत्रकारहरुलाई व्यावसायिक बनाउन कम्युनिटीले विज्ञापन दिएर सघाउनुपर्ने उनको मत थियो । मगर संघ केन्टका अध्यक्ष क्याप्टेन रिटायर्ड रामबहादुर पुनले विगतमा आफ्नै संयोजकत्वमा गरिएको उच्चस्तरको कार्यक्रममा नेपाली मिडियालाई निम्तो गर्दा जवाफसमेत नपाएको गुनासो गरे । उनले सबै ठाउँका गतिविधि मिडियामा समेटिएका छन् कि छैनन् भन्ने बुझ्न बेलाबेलामा प्रतिनिधि पठाएर अडिट गर्नुपर्ने सुझाव दिए । धेरै समुदायलाई अझै पनि मिडियामा कसरी जाने भन्ने जानकारी नभएको बताउँदै उनले पत्रकारहरुलाई समाजमैत्री हुन पनि सुझाव दिए ।

नेपाल जनजाति महासंघ यूकेका पूर्वअध्यक्ष सिरीप्रसाद लिम्बुले पत्रकारहरुलाई पक्षपातरहित भएर आवाजविहीनहरुका पक्षमा काम गर्न सुझाव दिए । सबै ठाउँका समुदायका गतिविधि समेट्न मिडियाले ठाउँ ठाउँमा स्थानीय प्रतिनिधि राख्नुपर्ने पनि लिम्बुको भनाइ थियो । किरात याख्या छुम्मा यूकेका पूर्वअध्यक्ष धन रोगुले पत्रकारहरु पनि आफू निकटका संस्थाप्रति बढी लचक हुने गरेको देखिएको उल्लेख गर्दै साना–ठूला, नजिक–टाढा सबै संस्थाहरुलाई समान व्यवहार गर्न सल्लाह दिए ।

संखुवासभा समाज यूकेका सल्लाहकार नरबहादुर बलम्पाकीले पत्रकारहरुलाई समाजको आँखा भएर कर्तव्य निर्वाह गर्न सुझाव दिए । पत्रकारले राजनीति, जाति, ठाउँ विशेषबाट माथि उठी निस्पक्ष भई काम गर्नुपर्ने पनि उनको भनाइ थियो । गुरुङ सोसाइटी केन्टकी अध्यक्ष राजदेवी गुरुङले अन्तत्र्रिmयाबाट धेरै कुरा सिक्न पाएको बताउँदै पत्रकारहरुसित हातेमालो गर्न र एकअर्कामा सरसहयोग गर्न आफू तयार रहेको बताइन् । मगर संघ केन्टका पूर्वअध्यक्ष उत्तरबहादुर मगरले सामाजिक सञ्जालका कारण मिडियाहरु ओझेलमा परेको आफूलाई लागेको बताए ।

पत्रकार छत्र वनेमले नेपाल पत्रकार महासंघले बेलाबेलामा आफ्ना कार्यक्रमहरु लन्डनबाहिर ल्याउन पर्ने सुझाव दिए । नेपालमा अहिले भइरहेका घटनाहरु र परिवर्तित नियम कानुनका बारेमा पनि पत्रकारहरुले यूकेका नेपाली समुदायलाई सूचित गर्नुपर्ने उनले बताए । गुरुङ सोसाइटी केन्टका महासचिव गोलमान गुरुङले समाजलाई अगाडि बढाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । केन्टमा गोरखाहरुको बाक्लो बसोबास हुँदाहुँदै पनि केन्टका नेपालीहरु धेरै क्षेत्रका अघि हुँदाहुँदै पनि मिडियामा कभरेज कम भएको गुनासो उनले थपे ।

कलाकार थीर थापाले बिनाअनुसन्धान समाचार लेख्दा कतिपयको अस्तित्व नै संकटमा परेको र कति समाचारले कतिपयको जीवनमा उत्साह नै उत्साह ल्याएको बताए । राष्ट्रिय/अन्तर्राष्ट्रिय चासोका विषयमा पत्रकारहरुले सत्य बाहिर ल्याउनुपर्ने सुझाव दिँदै उनले गलतरुपमा आएका समाचारका कारण मानिसहरुले गलत निर्णय लिइरहेको दृष्टान्त पेस गरे । तेह्रथुम समाज यूकेका अध्यक्ष डम्बर सिंगकले सामाजिक अभियन्ताभन्दा राजनीतिक अभियन्तालाई मिडियाले धेरै प्रवद्र्धन गर्ने गरेको बताए । पत्रकारहरुलाई तथ्यपरक हुन सल्लाह दिँदै उनले आफूहरुले पत्रकारहरुलाई के सहयोग गर्नपर्ने हो गर्न तयार रहेको वचनबद्धता प्रकट गरे ।

मगर संघ यूकेकी वरिष्ठ उपाध्यक्ष सीता पुनले पत्रकारहरुलाई चुनाव, राजनीति मात्र होइन स्वास्थ्यका बारेमा पनि कलम चलाउन अनुरोध गरिन् । आफ्नै उदाहरण दिँदै उनले एक व्यक्तिको अनुभवबाट धेरैको जीवन बचाउन पत्रकारहरुले मद्दत गर्न सक्ने बताइन् ।

लिम्बुवानका अभियन्ता लाहाङ चेम्जोङले सबै मिडियाको समाचार हेर्दा एउटै देखिने प्रसंग जोड्दै मिडियाहरुलाई समुदायसित आवश्यक जानकारी लिएर आफ्नै शैलीमा समाचार पस्कन सुझाव दिए । सगरमाथा गोरखा नेपाली समाजका वरिष्ठ उपाध्यक्ष कप्रसाद छन्त्यालले समाजको स्वप्न योजना नेपाली घर बनाउनमा यस्ता कार्यक्रमले सहयोग पुर्‍याउन सक्ने आशा प्रकट गरे ।

फोल्कस्टोन नेपाली समाजका महासचिव डा. महा राईले आफूहरु स्थानीय नेपालीहरुको सानो समुदाय भएकाले स्थानीय सञ्चारमाध्यमसित मात्र सम्पर्कमा रहेको बताए । बीएफबीएस गोरखा रेडियोकी रुपा रानाले समुदायलाई रेडियोमार्फत आफ्ना गतिविधि शेयर गर्न चाहना भए सहजरुपमा सम्पर्क गर्न अनुरोध गरिन् । कान्तिपुर दैनिकका यूके समाचारदाता तथा नेपाल पत्रकार महासंघ यूकेका संस्थापक अध्यक्ष नविन पोखरेलले यूकेका इस्युलाई कान्तिपुरमा कभरेज गर्न सक्दो प्रयास गरिरहेको बताउँदै सूचनाहरु बाँड्न समुदायका अगुवाहरुलाई आव्हान गरे ।

शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको सो कार्यक्रम सञ्चालन महासचिव सञ्जयभक्त कँडेलले गरेका थिए । अन्तरक्रियाको सहजीकरण शाखाका सदस्य रमेश सराङकोटीले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!