भरत गुरुङ
लन्डन । सोंपाल समाज यूकेले यही २७ जुलाई २०१९ शनिबारको दिनसम्म र बीबीक्यू कार्यक्रम वर्गफिल्ड कम्युनिटी स्पोट्र्स एसोसिएसन रेडिङ्गमा सम्पन्न भयो ।

गैरआवासीय संघ बेलायतकी उपाध्यक्ष पुनम गुरुङ, अध्यक्ष युक्तबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष नईन्द्र गुरुङ, उपाध्यक्ष प्रसाद गुरुङ र जेष्ठ सदस्य खड्गबहादुर गुरुङले सामूहिक रूपमा दिप प्रज्ज्वलन गरी कार्यक्रम समुद्घाटन गरेका थिए ।
समाजका अध्यक्ष युक्तबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गत वर्षहरुमा जस्तै नेपालबाट र अन्य देशबाट आएका सोंपालका सदस्यहरु, नयाँ वैवाहिक सम्बन्ध, जायजन्म, नयाँ घर खरिद, शैक्षिक क्षेत्रमा उत्तीर्ण भएका, प्रमोसन, नयाँ व्यापार/व्यवसाय सुरु गरेकाहरुलाई सम्मान गरिएको थियो ।
यसैगरी कार्यक्रमको दौरान मातृभूमि नेपाल स्याङ्जा जिल्लाको सुन्दर पर्यटकीय स्थल सोंपाल समाज “दरौ थाप्ले भ्यु रिसोर्टमा” निर्माण हुने शान्तिका अग्रदुत भगवान् बुद्धको ५५ फिट आग्लो प्रतिमा निर्माण सहयोगको लागि सल्लाहकार पार्वती गुरुङको संयोजकत्वमा बेलायतवासी सोंपाल परिवारहरुबाट जम्मा गरिएको रकम ३० लाख रुपैयाँ कार्यक्रममा उपस्थित भएका समाजका जेष्ठ व्यक्ति खड्गबहादुर गुरुङलाई हस्तान्तरण गरी नेपाल पठाइएको छ ।
त्यस्तै, सोंपाल समाज माझकटेरी सिद्धार्थ गुम्बा संरक्षणको लागि रेडिङ रेप संयोजक मिठु गुरुङबाट जम्मा गरिएको रकम ६ लाख ५ हजार ३१ रुपैयाँ जेष्ठ सदस्य शान्तकुमारी गुरुङ र ह्योबल गुरुङलाई हस्तान्तरण गरिएको छ ।
समाजका विभिन्न पदाधिकारी, सदस्य र ज्वाइँ चेलीबेटी उपस्थिति रहेको कार्यक्रममा विभिन्न आकर्षक खेलकुदहरु आयोजना गरी मनोरञ्जन दिलाइएको थियोे ।
त्यस्तै, कार्यक्रमको अन्त्यमा विभिन्न खेलमा प्रथम हुने र राफल पुरस्कार विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
यस वर्षको सम्मर बीबीक्यू कार्यक्रमको संयोजन मिठु गुरुङले गरेकी थिइन् भने समाजका महासचिव भरत गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।






