ब्रेकनमा ३ दिने क्याम्पिङ्ग र हाईक फर नेपाल

SHARE:

सुधा गुरुङ
ब्रेकन । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्ने उद्देश्यले वेल्सको ब्रेकनमा ३ दिने क्याम्पिङ्ग र हाईक फर नेपाल सफलतापूर्वक सम्पन्न भएको छ ।

पोखरेली मञ्च यूके र वी विल राइज फाउन्डेशनको संयुक्त आयोजनामा अगस्टको २ देखि ४ तारिखसम्म हाईक फर नेपाल (लामो दुरीको पैदलयात्रा) भएको हो । सो कार्यक्रमले संयुक्त अधिराज्यको वेल्सलाई करिब चार घण्टा नेपालमय बनायो ।
बेलायतभरीबाट सहभागी हुन आएका विभिन्न उमेर समूहका करिब ३०० जना पैदलयात्रीहरुले वेल्सको लाङ्गघोर्स माउन्टेनमा ९ किलोमिटर लामो पैदल यात्रा बढो उत्साह र उमंगका साथ पूरा गरे । जसमा कान्छो उमेर ४ वर्षदेखि थुप्रै स्वदेशी तथा विदेशी सिनियर सिटिजनको पनि उपस्थिति थियो ।

नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवर्द्धन अभियानलाई सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीहरुको पनि रहेको उल्लेख गर्दै हाइकिङ कार्यक्रमका प्रमुख संयोजक खुशीमान गुरुङ एमभीओले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिइने बताए ।

आयोजनास्थलमा नेपालको मानचित्र, शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको आकृति र भूकम्पले तहसनहस पारेको ३ करोड नेपालीको अमूल्य धरोहर, धरहराको निर्माण गरी विश्व शान्तिका लागि दीप प्रज्वलनसमेत गरिएको थियो ।
भूकम्पमा ज्यान गुमाउनेहरुको स्मृतिसँगै नेपालकै पहिचान बनेको धरहरा यथाशक्य छिटो निर्माण सम्पन्न गरियोस् भन्ने सन्देशस्वरुप सोको प्रतिमूर्ति बनाइएको पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले बताए । आयोजना स्थललाई नेपालमय बनाउन र सो सन्देश दिन करिब ६ मिटर (१८ फिट) अग्लो धरहरा गुरुङ आफैंले निर्माण गरेका थिए ।

कार्यक्रममा मुख्य अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले यस्ता कार्यक्रमले निरन्तरता पाइरहनु पर्ने उल्लेख गर्दै माउन्ट एभरेस्ट नामकरण गर्ने सर जर्ज एभरेस्ट बेलायतकै भएकाले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताए ।

‘नेपालका लागि सँगसँगै पाइला चालौं’ भन्ने नाराका साथ भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रर्वद्धन हेतुले वि विल राइजको पहलमा हङकङबाट सुरु भएको हाइक फर नेपाल तेस्रोपटक बेलायतको वेल्समा आयोजना गरिएको हो । विदेश बसे तापनि नेपालप्रति हरेक नेपालीले केही गर्नुपर्छ भन्ने दायित्वबोध गराउने यस्ता कार्यक्रम संसारभर आयोजना गर्न सकिने भन्दै हङकङबाट सहभागी फाउन्डेशनका संस्थापक तुलसी गुरुङले सबैलाई आ–आफ्नो स्थानबाट मुलुकका लागि सकेको पहल गर्न अनुरोध गरे ।

आयोजक पोखरेली मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले यस्ता कार्यक्रमले नेपालीहरुबीच सद्भाव, भातृत्व र सौहर्दता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटन विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने जनाए ।
कार्यक्रममा अन्य स्थानीय विशेष अतिथिहरुमा ब्रेकनका मेयर काउन्सिलर एन माथिएज, धम्पूस र ब्रेकन ट्वीनिङ्ग कमिटी यूकेका अध्यक्ष काउन्सिलर डेविड मेडिरिथ, गत मे १९ मा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका क्याप्टेन गेथिन डेभिस, एनआरएन यूके उपाध्यक्ष पूनम गुरुङ, मिस्टर यूके नेपाल मनन गुरुङ थिए ।

त्यस्तै नेपालबाट आएका अतिथिहरुमा डाइरेक्टर अफ ईस्टर्न यूनिभर्सिटी प्रोफेसर डाक्टर बिजु थपलिया, नेपाल संस्कृत विश्व विद्यालयका नगेन्द्रराज रेग्मी, नारदप्रसाद पौडेल, नेपाल प्रज्ञा प्रतिष्ठानका भरतकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका कृष्ण क्षेत्री लगायत थुप्रै स्थानीय विदेशीहरुको समेत बाक्लो सहभागिता थियो । आयोजनास्थल सुन्दर सहर ब्रेकन र धम्पुसबीच हालै मात्र गत फेब्रुअरीमा मुख्य संयोजक मेजर गुरुङको पहलमा मितेरी साइनो पनि गाँसिएकोले ब्रेकनवासीको मनमा नेपालप्रति थप माया, सद्भाव र चासो बढेको छ ।

गत वर्ष १५० जतिको सहभागिता रहेको हाइक फर नेपालमा यसपटक आयोजकले ३०० जति सहभागीको अपेक्षा गरेअनुरुप ठ्याक्कै दोब्बरकै संख्यामा सहभागिता बढ्नु एकदमै सकरात्मक पक्ष रहेको र कार्यक्रम बेलायतवासी माझ लोकप्रिय बन्दै गएको ज्वलन्त उदाहरण हो भन्ने क्याम्पेनका लागि अहोरात्र खटिएका संयोजक मेजर गुरुङले बताए । आगामी वर्षहरुमा यसलाई अझ बृहत् र थप व्यवस्थित बनाउँदै लैजाने उनले बताए ।

ब्यस्त बेलायती जीवनशैलीबाट केही दिन सापट लिएर ३ दिने क्याम्पिङ्ग र हाईकिङमा बेलायतभरीका सहभागीहरुले भरपूर आनन्द उठाएको बताए । सहरको कोलाहलबाट दूर, कामको टेन्सनबाट मुक्त शान्त, सुन्दर मनोरम डाँडाकाँडाले घेरिएको ब्रेकनको लोङ्गघार्स डाँडा चढ्दा अधिकांशलाई गाँउघरको तिर्सना केही हदसम्म मेटिएको आभास भएको उनीहरुले बताए । त्यस्तै नयाँ पिँढीका यूवा वर्ग र बालबालिकाहरुलाई कम्तीमा वर्षको एकचोटी स्वदेश जानुपर्छ भन्ने प्रेरणा मिलेको बताए, जुन एकदमै सकरात्मक पक्ष हो र भिजिट नेपालको उद्देश्य पनि यही हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!