एटा संवाददाता
लन्डन । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले आत्मगत तथा वस्तुगत कारण पार्टी एकीकरण भएको बताएका छन् ।
उनले बेलायतस्थित नेकपा भातृसंगठन नेपाली जन प्रगतिशील मञ्च र प्रवासी नेपाली मञ्च यूकेद्वारा गत शनिबार ३१ अगस्ट दिउँसो फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सो धारणा राखेका हुन् ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले नेपालका कम्युनिष्टहरुले गरेका विभिन्न आन्दोलन र इतिहासबारे उल्लेख गरे । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच आत्मगत र वस्तुगत रुपमा एकता भए पनि पार्टीमा रहेका केही संकीर्णवादी चिन्तनले पार्टी विकासमा बाधा पारिरहेको उनको आरोप थियो ।
उनले नेपालको विकासको गति छिटो नचले तापनि विकासका सम्भावना थुप्रै रहेको बताए ।
सो अवसरमा बेलायत भ्रमणमा रहेका क्होंला सोंथर गाउँपालिका प्रमुख प्रेम घले र मंगला गाउँपालिका प्रमुख शतप्रसाद रोकालाई समेत खादा लगाई स्वागत गरिएको थियो ।
नेपाली जनप्रगतिशील मञ्च यूकेका अध्यक्ष सुरेश गौतमको अध्यक्षतमा सम्पन्न कार्यक्रममा डा. मुकन्द बास्तोलाले स्वागत मन्तव्य, सुशीला राईले धन्यवाद ज्ञापन गरेका थिए भने प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले कार्यक्रम सञ्चालन गरेका थिए । सो अवसरमा बेलायतमा रहेका करिब ५० भन्दा बढी नेकपाका सक्रिय सदस्य तथा पार्टीका शुभचिन्तकहरुको उपस्थिति थियो ।
सहभागीबीच परिचयात्मक कार्यक्रम भएको थियो ।






