लन्डन । हाम्रो बहिनी कार्यक्रम भव्य र सभ्य रुपमा मनाइएको छ । साउथ इस्ट रिजनल तमुधिं लन्डनको आयोजनामा गत आइतबार सो कार्यक्रम मनाइएको हो । हिराप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव डमरबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम पनि महासचवि गुरुङले नै सञ्चालन गरेका थिए ।
कार्यक्रममा दिदीबहिनीहरु रातोसारीमा सजिएर सहभागी भएका थिए । सहभागीमध्ये ॐदेवी गुरुङ, चन्द्रदेवी गुरुङ, कमला गुरुङ र तारा गुरुङले तीज गीतमा मनमोहक नृत्य प्रस्तुत गरेका थिए । एनआरएनए यूकेका उम्मेदवारहरुले संस्थालाई १ सय ६० पाउन्ड आर्थिक सहयोग पनि दिएका सहसचिव चन्द्रदेवी गुरुङले जानकारी दिइन् ।
कार्यक्रममा अध्यक्ष हिराप्रसादले सम्पूर्ण दिदीबहिनीहरु र सहयोगीलाई धन्यवाद दिँदै आगामी कार्यक्रममा पनि सहयोग अपेक्षा राखे । उनले आमा प्रमुख तथा उपाध्यक्ष पार्बती गुरुङ र सम्पूर्ण आमा टोलीलाई सहयोगका लागि धन्यवाद दिँदै अभार प्रकट गरे ।
त्यस अवसरमा अध्यक्ष गुरुङले १५ सेप्टेम्बरमा युथ लाइफ मेम्बर, २८ मा लाइफ मेम्बर, ५ अक्टोबरमा पृत्रीपूजाजस्ता आगामी कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका दाधिकारीहरु, आमा टोली, संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, पूर्वअध्यक्ष, आजीवन सदस्य लगायतको बाक्लो उपस्थिति थियो ।












