ठूलो परिमाणमा फेसबुक प्रयोगकर्ताका डाटाको घोटालासम्बन्धी प्रकरण सेलाउन नपाउदै ट्वीटर पनि यही विवादमा मुछिएको छ । माइक्रोब्लगिङ साइट ट्वीटरले समेत वेलायती कम्पनी क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई लाखौ ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको खुलासा भएको छ । क्याम्ब्रिज एनालिटिकाले झण्डै ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका निजी जानकारीहरु प्रयोगकर्ताको जानकारी तथा अनुमति विना नै संकलन गरेको थियो । द सण्डे टेलिग्राफको रिपोर्ट अनुसार ट्वीटरले अलेक्जेन्डर कोगनलाई सन् २०१५ मा एक दिनका लागि सार्वजनिक डाटामा पहुच उपलब्ध गराएको थियो । कोहोन त्यस समय क्याम्ब्रिज विश्वविद्यालयका मनोवैज्ञानिक शोधकर्ता थिए र उनको कम्पनीको नाम ग्लोबल साइन्स रिसर्च थियो । शोधकर्तालाई ट्वीटर प्रयोगकर्ताका डाटामाथि एक दिनको पहुच उपलब्ध गराएबापत ट्वीटरले रकम लिएको थियो । त्यसक्रममा शोधकर्ताले सन् २०१४ को डिसेम्बर देखि सन् २०१५ को अप्रिल सम्मको अवधिका सार्वजनिक ट्विट्सको र्याण्डम स्याम्पल तयार गरेका थिए ।
यद्यपि, ट्वीटरले निजी सूचनाहरुसम्म पहुच पुगेको विषयमा आफुलाई कुनै जानकारी नभएको बताएको छ । यसैबीच, सन् २०१८ को पहिलो त्रैमासिकमा ट्वीटरको राजश्वमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको थियो । यो अवधिमा ट्वीटरले ६६ करोड ५० लाख डलर आम्दानी गरेको छ । यता फेकबुक काण्डमा मुछिएपछि वेलायती कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । सामाजिक सञ्जाल फेसबुकबाट तथ्यांक चोरी गरी अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आरोप लागेको कम्पनी बन्द हुन लागेको हो । राजनीतिक पार्टीलाई परामर्श दिने क्याम्ब्रिज एनालिटिका कम्पनीमाथि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप लागेको छ ।
आरोप लागेपछि ग्राहक नपाएपछि व्यवसाय बन्द गर्न लागेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आफ्नो वेवसाइटमा आफूमाथि लागेको आरोप आधारहीन भएको जनाएको छ । क्याम्ब्रिज एनालिटिकाका प्रवक्ता क्लारेन्स मिचेलले कम्पनीको वेवसाइटमा विगत केही महिनादेखि क्याम्ब्रिज एनालिटिका माथि कतिपय आधारहीन आरोप लागेको र त्यसले कम्पनीलाई बदनाम मात्र नगराइ विज्ञापनमा पनि ठूलो धक्का लागेको जनाएका छन् । आधारहीन आरोपका बाबजुद कम्पनीका सबै ग्राहक विस्थापित भएको र व्यवसायलाई आर्थिक संकट परेकाले बन्द गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरेका छन् । उक्त कम्पनीमाथि सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा फेसबुकबाट डाटा चोरी गरेर चुनाव प्रभावित गरेको आरोप छ ।






