तमु समाज यूकेको ग्रहशान्ति तथा ल्होछार पूजा २७ डिसेम्बरमा, जनवरी २ मा विशेष समारोह

SHARE:

वेम्ब्ली, लन्डन । तमु समाज यूकेले आगामी २ जनवरी २०२७ शनिबारका दिन तमु ल्होछार मनाउने भएको छ। तमु जातिको महान् पर्व ल्होछारका अवसरमा समाजले लन्डनको ह्यारो लेजर सेन्टरमा विशेष समारोह आयोजना गर्न लागेको हो।

कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष केदारबहादुर गुरुङले गर्ने निर्णय यसअघि नै भइसकेको समाजले जनाएको छ।

यसैगरी, २७ डिसेम्बर २०२६ आइतबार सामूहिक ग्रहशान्ति तथा ल्होछार पूजा आयोजना गरिनेछ। पूजाका धार्मिक कार्य तथा धर्मगुरुहरूको व्यवस्थापनको संयोजन हरिमान गुरुङले गर्नेछन् भने भोजन व्यवस्थापनको जिम्मेवारी आमा समूहले सम्हाल्नेछ। समाजकी अध्यक्ष बिन्दुकुमारी घले गुरुङले सम्पूर्ण आजीवन सदस्य तथा शुभचिन्तकहरूलाई पूजामा सहभागी हुन आग्रह गरेकी छन्।

ल्होछार समारोहमा नेपालका दुई राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिनेछन्। मौलिक पहिचान र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले गुरुङ सांस्कृतिक पोसाकमा उपस्थित महिलामध्ये उत्कृष्ट एक जना र पुरुषमध्ये उत्कृष्ट एक जनालाई पुरस्कृत गरिनेछ। समाजले सबै सहभागीलाई सम्भव भएसम्म आफ्नै सांस्कृतिक पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ।

कार्यक्रममा विभिन्न आकर्षक उपहारसहितको राफल ड्र सञ्चालन गरिनेछ। साथै, युवा समूहले साना नानीबाबुहरूका लागि ल्होछार उपहारस्वरूप ‘गिफ्ट ह्याम्पर’को व्यवस्था गर्ने भएको छ।

विगत दुई वर्षदेखि आजीवन सदस्यहरूलाई भाइबर तथा इमेलमार्फत ल्होछारको शुभकामना ई–कार्ड पठाउँदै आएको समाजले यस वर्ष भने शुभकामना कार्ड र निमन्त्रणापत्र हुलाकमार्फत पठाउने भएको छ। यसका लागि ठेगाना परिवर्तन भएका आजीवन सदस्यहरूलाई महासचिव वा कार्यसमितिमार्फत यथाशीघ्र नयाँ ठेगाना अद्यावधिक गराउन अनुरोध गरिएको छ।

कार्यक्रमको प्रवेश शुल्क प्रतिव्यक्ति ३० पाउन्ड र पाँचदेखि १२ वर्षसम्मका बालबालिकाका लागि १५ पाउन्ड तोकिएको छ। यस वर्ष समाजको आजीवन सदस्यता लिएका नयाँ सदस्यहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

ल्होछार विशेष भोजको व्यवस्थापन दरबार रेस्टुरेन्टका सञ्चालक तथा समाजका सक्रिय सदस्य धनबहादुर गुरुङले गर्नेछन्। पेय पदार्थ, डिजे तथा साउन्ड सिस्टम व्यवस्थापनको जिम्मेवारी युवा समूहका अध्यक्ष प्रज्वलमान गुरुङलाई दिइएको छ।

कार्यक्रमको खर्च व्यवस्थापनमा सहयोग पुर्‍याउन समाजले आजीवन सदस्य तथा शुभचिन्तकहरूलाई प्रायोजनका लागि समेत आह्वान गरेको छ।

ल्होछार समारोहकै अवसरमा समाजको त्रैवार्षिक मुखपत्र ‘सली ट’ (सुनाखरी) विमोचन गरिने कार्यक्रमसमेत रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!