लन्डन । नेपाली कला, विज्ञान तथा साहित्य मञ्च बेलायतले नेपाली चलचित्रका चर्चित पटकथा लेखक तथा निर्देशक रामबाबु गुरुङसँग अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।
‘नेपाली सिनेमा–पटकथादेखि पर्दासम्म’ शीर्षकमा यही २८ नोभेम्बर २०२६ मा केन्टको फोक्स्टनस्थित थ्री हिल्स स्पोर्ट्स पार्कमा कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक डा. महा राईले जानकारी दिएका छन्। कार्यक्रममा रामबाबु गुरुङसँगै नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा स्थापित अभिनेत्रीहरूको समेत विशेष उपस्थिति रहनेछ। अभिनेत्री सिर्जना सुब्बा (लुट, डाइङ क्यान्डल, अञ्जिला), पशुपति राई (कबड्डी, गाउँ आएको बाटो, पेन्सन पट्टा, सेप अफ मोमो), रिस्मा गुरुङ र सिर्जना गुरुङको सहभागिता रहने आयोजकले जनाएको छ।
नेपाली चलचित्रको विकास, पटकथा लेखन, सिर्जना प्रक्रिया र पर्दासम्मको यात्राबारे प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
पछिल्लो समय बेलायत नेपाली कला तथा साहित्यिक गतिविधिका लागि उर्वर भूमि बन्दै गएको छ। बेलायतका नेपालीको बाक्लो बसोबास रहेका सहरहरूमा नेपाली चलचित्र व्यावसायिक रूपमा प्रदर्शन हुने क्रम बढिरहेको छ। बेलायतमा बसोबास गर्ने नेपाली फिल्मकर्मीको लगानी र नेपाली चलचित्रमा अभिनय गर्ने स्थानीय कलाकारको आकर्षणसमेत बढ्दै गएको छ।
नेपाली चलचित्रले बेलायतमा रहेका नेपाली समुदायलाई मातृभूमि र आफ्नो संस्कृतिसँग जोड्ने माध्यमका रूपमा काम गरिरहेको छ। यसले नेपालीपन र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै सांस्कृतिक पुल तथा दूतको भूमिका निर्वाह गरिरहेको छ। त्यस्तै, नेपाली चलचित्रमा लगानी बढाउन र अन्तर्राष्ट्रिय बजार विस्तार गर्न पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
आयोजकका अनुसार कला मनोरञ्जन र व्यापारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व तथा बौद्धिक बहसको विषयसमेत हो। सर्जक तथा कलाकारसँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका सिर्जनामाथि प्रश्न उठाउने, सहमति–असहमति व्यक्त गर्ने र तत्काल प्रतिक्रिया प्राप्त गर्ने अवसर प्रदान गर्नु कार्यक्रमको अर्को उद्देश्य रहेको छ।
समकालीन नेपाली चलचित्र क्षेत्रका चर्चित सर्जक तथा कलाकारहरूसँग प्रत्यक्ष संवाद गर्न पाइने यस कार्यक्रममा बेलायतमा रहेका फिल्ममेकर, सिर्जनाकर्मी, कलाकार, कलाप्रेमी तथा नेपाली चलचित्रका प्रशंसकहरूलाई सहभागी हुन कार्यक्रम संयोजक डा. महा राईले आग्रह गरेका छन्।
सन् २०२३ मा बेलायतमा बसोबास गर्दै नेपाली कला, विज्ञान तथा साहित्यका क्षेत्रमा क्रियाशील व्यक्तिहरूले स्थापना गरेको यस संस्थाले यसअघि ‘निर शाहसँगको साँझ’ लगायत विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिसकेको छ।






