नारायणसिंह गुरुङ
लन्डन । श्री मेश्रम बराह घान्द्रुक वेलफेयर सोसाइटी युकेको महाधिवेशन र दसौं साधारणसभा भव्य रुपमा सम्पन्न गरिएको छ ।
गत हप्ता २८ अप्रिल आइतबार फार्नबोरोस्थित सम्युअल कडी कलेज स्पोर्ट्स हलमा भएको अधिवेशनले अर्जुन गुरुङको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले समाजका सल्लाहकार नारायणसिंह गुरुङको अध्यक्षतामा गोपीचन्द्र गुरुङ र नारायण गुरुङ रहेको ३ सदस्यीय निर्वाचन उपसमिति गठन गरिएको थियो ।
साधारणसभा समाजका अध्यक्ष पूर्ण गुरुङ र आमा समूहकी अध्यक्ष शान्ति गुरुङले संयुक्त रुपमा पानसमा द्वीप प्रज्वलन गरी शुभारम्भ गरेका थिए । सो कार्यक्रममा अध्यक्ष गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव रोशन गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा समाजको वार्षिक प्रगति विवरण महासचिव रोशन गुरुङले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष याम गुरुङले प्रस्तुत गरेका थिए । त्यसपश्चात् समितिको मातहतमा रहेका घान्द्रुक समाज आमा समूह, खेलकूद विभाग, सांस्कृतिक विभाग, गुरुङ भाषा संरक्षण समिति, घान्द्रुके डटकम वेबसाइटलगायत समितिले आफ्ना प्रतिवेदन प्रस्तुत गरे ।
छोटो विश्राम लिएपश्चात् दोस्रो चरणको कार्यक्रम सुरु भएको थियो । दोस्रो चरणमा आन्तरिक लेखापरीक्षण समितिका संयोजक नारायणसिंह गुरुङले समाजको आर्थिक गतिविधिहरुमाथि प्रकाश पारे । लगत्तै घान्द्रुक प्रिजर्भेसन ट्रष्ट गोर्खा कप, नेपाली मेला, तमु फोरमको त्रिभाषीय पुस्तकजस्ता विषयमा बृहत् छलफल गर्दै अन्तमा घान्द्रुक समाज युकेको मूल समिति मातहात रहेका अन्य समितिहरुमा रि. ईन्स्पेकटर खेमबहादुर गुरुङको अध्यक्षतामा रहेको घान्द्रुक तमु भाषा संरक्षण समिति अरु पाँच वर्ष र शान्ति गुरुङको अध्यक्षतामा रहेको घान्द्रुक आमा समाज युकेलाई अरु ३ वर्षका लागि विस्तार गरी अनुमोदन गर्यो ।
अन्तमा क्या. पूर्ण गुरुङको अध्यक्षतामा रहेको पुरानो समितिलाई आउने जुलाई महिनामा हुन गइरहेको घान्द्रुके समर भेटघाट कार्यक्रममा औपचारिक रुपमा बिदाई गर्ने गरी अर्जुन गुरुङको अध्यक्षतामा गठित नयाँ कार्यसमितिलाई निर्वाचन समिति संयोजक नारायणसिंह गुरुङले शपथ खुवाउँदै समाजका वयोवृद्ध सदस्य गुणराज गुरुङले खादा लगाई स्वागत गरेका थिए । त्यसपश्चात् सभाध्यक्ष क्या. पूर्ण गुरुङले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै घान्द्रुकेको दसांै साधारणसभा समापन भएको घोषणा गरेका थिए । कार्यक्रम बिहान १०:३० बाट सुरु भएर बेलुका ५:३० सम्म चलेको थियो ।






