नेपालमा अचेल दैनिकजसो सडक दुर्घटना भइरहेका छन् । सडक दुर्घटनाका कारण सर्वसाधारणले ज्यान गुमाउनु परिरहेको छ । सामान्यत: चाडबाडका बेला बढी दुर्घटना हुने गरेपनि यसपटक भने चाडबाड सकिएपछि दुर्घटना बढिरहेका छन् ।
आइतबार मात्र दोलखाबाट काठमाडौैंतर्फ आउँदै गरेको बस सुनकोसी नदीमा दुई दर्जनभन्दा बढी सर्वसाधारणले ज्यान गुमाउनु परेको छ । क्षमताभन्दा बढी यात्रु चढाएका कारण अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । त्यस्तै, देशका अन्य जिल्लाहरुमा पनि दैनिकजसो दुर्घटना भइरहेका छन् ।
यसरी दुर्घटना बढिरहँदासमेत सरकारको तर्फबाट दुर्घटना न्यूनीकरणका लागि खासै पहल भएको देखिएको छैन । सर्वसाधारणको त ज्यान नै होइन जस्तो गरी सरकारले लाचारीपन देखाउनु पक्कै पनि राम्रो होइन । हवाइ जहाज चढ्नेहरु दुर्घटनामा परे भने उच्चस्तरीय छानविन समिति बन्ने हाम्रो देशमा दर्जनौं सर्वसाधारण दुर्घटनामा मरिरहँदा पनि सरकारले कुनै पनि जाँचबुझ गर्ने, दुर्घटना न्यूनीकरणका लागि पहल कदमी लिने काम हुन सकेन । यो अत्यन्त दु:खद पक्ष हो । यसले पक्कै पनि दु:खको बेला सरकारको मलमपट्टी लगाउनेसम्मको काम पनि गर्न सकेन । हुन सकेन । त्यसैले सरकारले सर्वसाधारणको पनि सबैको जस्तो ज्यान हो भन्ने हिसाबले काम गर्न जरुरी छ । त्यसका लागि आवश्यक पहलकदमी तत्काल लिनुपर्छ ।
अहिले दुर्घटनाका खास कारण भनेको यातायातका साधनहरु पुराना हुनुका साथै समयमै मर्मत सम्भार नभएर पनि हो । चाडबाडका बेला बढी प्रयोग गरिएका यातायातका साधनहरुको समयमै मर्मत हुन सकेन । चाडबाडमा गाउँ पुगेकाहरु शहर भित्रिनका लागि अहिले बढी यातायातका साधनमा भिड छ । त्यही भिडका कारणले गर्दा यातायातका साधनमा बढी भीड बढ्ने गरेको छ । क्षमताभन्दा बढी भीड लाग्ने गरेको छ । यसरी लाग्ने भीडलाई नचढाउन पनि सक्दैनन् । तर, त्यसका लागि पर्याप्त यातायात साधनको व्यवस्था व्यवसायीले गर्न सक्नुपर्छ । त्यसो गर्नका लागि सरकारले प्रोत्साहित गर्न सक्नुपर्छ ।
क्षमताभन्दा बढी यात्रु चढाउन पाइन्न भनेर मात्र पनि हुँदैन । पर्याप्त यातायातका साधन नभएपछि झुण्डिएर, छतमा बसेर या जसरी पनि गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । त्यसैले पनि ती बाध्यताले गर्दा सर्वसाधारणको अकालमै ज्यान जाने गरेको छ । यो रोक्नका लागि पर्याप्त यातायातका साधनको व्यवस्था गर्नुपर्छ । यातायात साधनको स्थितिका विषयमा पर्याप्त जाँचबुझ गर्ने संयन्त्रणको विकास गर्नुपर्छ । पैसा कमाइन्छ भन्दैमा असुरक्षित यातायातका साधन दगुराउने काम गर्नु हुँदैन । व्यवसायीले पनि त्यसतर्फ ध्यान दिनैपर्छ ।
सडकमा सुरक्षा जाँचमा बसेका प्रहरीहरुको यसमा महत्वपूर्ण भूमिका रहन्छ । प्रहरीले सम्भावित दुर्घटना कम गर्न रचनात्मक भूमिका खेल्न सक्छ । त्यसका लागि पर्याप्त सुरक्षाकर्मीको परिचालन र क्षमताभन्दा बढी यातायात यात्रु चढाउन नदिने हो भने सम्भावित दुर्घटना कम गर्न सकिन्छ । त्यसतर्फ प्रहरी प्रशासनको ध्यान जान जरुरी छ । अकालमा मृत्यु रोक्न सरकारले आजैदेखि केही सकारात्मक कदम चाल्नुपनेै देखिएको छ । सर्वसाधारणको पनि जीवन सबैको उत्तिकै महत्वपूर्ण हुन्छ । सबैको रक्षाका लागि सरकारको ध्यान जान जरुरी छ ।






