पूर्ण गुरुङ (घान्द्रुके कान्छा) , अल्डरसट । नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसट टाउनमा चाईना ओरियन्टल सुपरमार्केट खुलेको छ ।

गत २४ नोभेम्बर आइतबारका दिन स्थानीय रस्मुर बरो काउन्सिलका मेयर सु कार्टरले रिबन काटी सो सुपरमार्केटको शुभारम्भ गरेकी हुन् । सो अवसरमा स्थानीय मेयर कार्टर लगायत काउन्लिरहरु, स्थानीय नेपाली संघसंस्थाका पदाधिकारी तथा सदस्यहरु, आफन्तजन, ईष्टमित्र, साथभाइ लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
दिउँसो १ बजे ड्रागन नृत्य सँगसँगै खुलेको सो पसल दिनभर बधाई दिने र सामान खरिद गर्नेहरुले भरिएको थियो । विशेषगरी नेपाली, चाइनिज, कोरियन, जापनीज, थाईल्यान्ड, मलेसियन, इन्डोनेसियन, इन्डियन लगायत साउथ एशियनसँग सम्बन्धित सामानहरु थोक तथा खुद्रामा बिक्री गर्ने उद्देश्यले सो सुपरमार्केट स्थापना गरिएको सञ्चालकहरु बताउँछन् ।
उद्घाटन समारोहमा स्थानीय रस्मुर बरो काउन्सिल मेयर, काउन्सिलर लिडर, काउन्सिलर, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, एनआरएनए यूके इंग्ल्यान्ड अध्यक्ष दिपक श्रेष्ठ लगायत स्थानीय नेपाली संघसंस्थाका पदाधिकारीहरुको विशेष उपस्थिति थियो ।
‘ग्राहकले दैनिक आवश्यक पर्ने सबै सामानहरु एकै ठाउँमा पाउन्’ भन्ने उद्देश्य अनुरुप आफूहरुले विभिन्न मासुका परिकार, नेपाली सामान लगायत एशियन सामानहरु समेत राखिएको सुपरमार्केटका एक सञ्चालक कमल गुरुङले बताए । उनले आफूहरुले सामानको क्वालिटीलाई विशेष ध्यान दिइएको र कमभन्दा कम मार्जिन राखेर बिक्री गरिने जनाए । अल्डरसटमा एसियनहरुका लागि विशेष पसल नभएकोले पनि आफूहरुले एशियनहरुको मागलाई ध्यानमा राखेर पसल सुरु गरिएको बताए ।
यसैबीच, सो पसलमा आएका एकजना ग्राहकले ‘सबै सामानहरु एउटै पसलमा पाउनु भनेको हामी ग्राहकहरुका लागि राम्रो कुरा हो’ भने । त्यस्तै, अर्का ग्राहकले, ‘धेरै पसल खुल्यो भने सामानहरु गुणस्तरीय र सुपथ मूल्यमा समेत पाइने’ विश्वास व्यक्त गरे ।
एनआरएनए यूकेका पूर्वअध्यक्ष मुछेत्र गुरुङ, राजु घले, कमल गुरुङ लगायतको लगानीमा सुरु गरिएको सुपरस्टोर संभवत: सो क्षेत्रमा नेपालीहरुले सञ्चालन गर्ने ग्रोशरीमध्येकै ठूलो देखिन्छ ।
अल्डरसट थुप्रै नेपाली कार्यक्रमहरु आयोजना हुने स्थल पनि हो । आर्मी टाउनको रुपमा समेत परिचित अल्डरसटमा गोर्खा पल्टनसमेत रहेको छ । हुन त, अल्डरसटमा अरु ग्रोशरीहरु नभएका होइन तर एउटै छानामुनी विभिन्न प्रकारका सामानहरु उपलब्ध हुनु भनेको ग्राहकहरुका लागि खुसीको कुरा पनि हो ।
त्यस्तै, एनआरएनए यूकेको कार्यालय यसै टाउनमा अवस्थित छ भने हजारौं दर्शक ओइरिने गोर्खा कप फुटबल प्रतियोगिता पनि वर्षौंदेखि यसै टाउनमा आयोजना हुँदै आएको छ । बेलायतमा क्रियाशील तमुधिं यूके र मगर संघ यूकेको भवनसमेत यसै टाउनदेखि नजिकैको टाउनमा रहेको छ ।






