छत्र वनेम
लन्डन । किरात याक्थुङ चुम्लुङ यूके केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा शनिबार २८ डिसेम्बरका दिन याक्थुङ चुम्लुङ यूके केन्द्रीय कार्यसमितिको बैठक बसेको हो । संस्थाका अध्यक्ष तिलबिक्रम सम्बाहाम्फेको अध्यक्षतामा बसेको बैठकमा यही महिना संस्थाद्वारा आयोजित चासोक तङ्नाम कार्यक्रमको समीक्षा गरिएको थियो । कार्यक्रम चुम्लुङ यूकेले गत वर्ष मात्र खरिद गरेको मेडिस्टोनस्थित आफ्नै भूमि चुम्लुङ देनमा सम्पन्न भएको थियो ।
चुम्लुङका अनुसार बैठकमा चासोक तङ्नाम कार्यक्रमको समीक्षा लगायत चुम्लुङ देनसम्बन्धी निर्माण, संरक्षण, विकास लगायत विभिन्न शीर्षकमा बृहत् छलफलपछि निर्णयहरु भएको थियो । चुम्लुङले गत वर्ष खरिद गरेको चुम्लुङ जग्गाको निम्ति ८ सय ९८ दातालगायत केही संस्थासहित ४ लाख ५२ हजार पाउन्ड उठेको सहकोषाध्यक्ष दिपेन्द्र यक्सोले जानकारी गराए ।
बैठकमा संस्थाको आर्थिक लेखा परीक्षण गराउने विषयमा पनि छलफल भएको थियो । त्यस्तै विधान संशोधनसम्बन्धी पनि छल भई आउँदो १५ फेब्रुअरी २०२० का दिन विधानसभा कार्यक्रम निश्चित भएकोले कार्यक्रम स्थलको सुनिश्चित गरी पत्राचार गरिने निर्णय भएको चुम्लुङ यूकेले जनाकारी दिएको छ ।
त्यस्तै संस्थामा आबद्ध भई युवाहरुलाई सक्रिय बनाउन लाहाङ चेम्जोङको संयोजन रहने गरी याक्थुङ युथ फोरम तदर्थ समिति गठनका लागि सदस्यहरु चयन गरिएको छ । जसमा अमित थेवे, भुवन बोखिम, सिकुम चोङवाङ, मुक्कुम कुरुम्बाङ, आश्विन सवेन्हाँङ, पूर्ण याक्सो, सुम्निमा फालेक्छ्वा, कोमल सेने र तारिफ नेम्वाङ छन् ।
किरात याक्थुङ चुम्लुङ यूकेको केन्द्रीय समितिको थामेन्दिङमा चुम्लुङ (महिला कमिटी) ले गर्दै आएको लिम्बु भाषाको हाजिरी जवाफ प्रतियोगिता आगामी २१ मार्चका दिन गर्ने निर्णय गरेको छ । कार्यक्रम संयोजनको निम्ति उपाध्यक्षद्वय विमला सेन, दुर्गा पाङमा र सहसचिव सानु सुब्बालाई जिम्मेवारी तोकेको छ ।
नेपालबाट यूके भ्रमणमा रहेकी गायिका मनु नेम्वाङको प्राप्त अनुरोधबमोजिम उनको एकल गायन रहेको सांस्कृतिक कार्यक्रम तथा बजारमा ल्याउन लागेको गीति एल्बम विमोचन कार्यक्रम आउँदो ८ फेब्रुअरी २०२० का दिन फेल्थाममा आयोजना हुने निश्चित गरी त्यसका निम्ति उपाध्यक्ष नरबीर आङ्बोलाई जिम्मेवारी तोकिएको छ ।
कार्यक्रम सञ्चालन महासचिब गणेश इजमले र सभामा भएका छलफलसम्बन्धी निर्णयका टिपोट सचिव विश्वासदीप तिगेलाले गरेका थिए ।






