लिलामान शेरपुञ्जा, लन्डन । मगर संघ यूके युनाईटेट हमसायर सर्रे बर्कसायर (यूएचएसबी) शाखाले विविध कार्यक्रमका साथ मगरहरुको मौलिक पर्व माघे संक्रान्ति मनाएको छ । गत शनिबार ११ जनवरीका दिन फार्नबोरोस्थित सामुयल कोडी कलेजमा संक्रान्ति मनाइएको हो ।

कार्यक्रममा नेपालबाट आएका हास्य कलाकार सन्ध्या बुढा (काउली बूढी), लोकगायिका खिमा रोका र स्थानीय कलाकारहरुले जोडदार प्रस्तुति दिएका थिए । हास्यव्यंग्य, मगर संस्कृतिसँग सम्बन्धित गीत तथा नृत्यबाट सहभागीहरुले भरपूर मनोरञ्जन लिएका थिए ।
कार्यक्रममा मगर संघ यूकेका अध्यक्ष ले. सुनिल रानाले प्रमुख अतिथिको आसनबाट माघे संक्रान्ति पर्वको बारेमा बोल्दै सबैमा शुभकामना दिएका थिए । त्यस्तै, विशेष अतिथि ले.क. देवेन्द्र आले, मगर संघ यूके यूएचएसबी शाखाका पूर्वअध्यक्ष क्या.रि. ताम ढेंगा, लेख राना लगायतले पनि शुभकामना मन्तव्य दिएका थिए ।
सो शाखाले प्रत्येक वर्ष संक्रान्तिलाई विशेष कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ । कार्यक्रममा विभिन्न विषय र तहबाट हालै गे्रज्युसेसन गरेका विद्यार्थीहरुलाई खादा लगाई सम्मान गरिएको थियो ।
मगर जातिहरु नेपालका सबभन्दा बढी जनसंख्या भएको आदिवासी जनजातिहरु हुन् भने ब्राह्मण र क्षत्री पछि धेरै जनसंख्या भएको जाति पनि हुन् । मगरहरुको भाषा, कला र संस्कृति संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यअनुरुप मगर संघ यूकेका विभिन्न १३ वटा शाखाले वर्सेनि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।
त्यस्तै, मगर संघ यूकेले नेपाली ओपन कन्सर्टजस्ता ठूला कार्यक्रमसमेत आयोजना गर्दै आएको छ । आउने जुनमा हुने ओपन कन्सर्टमा नेपालका ख्यातिप्राप्त हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको विशेष उपस्थिति हुने जनाइएको छ । गत वर्ष सम्पन्न कन्सर्टमा वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई आमन्त्रण गरिएको थियो ।
परम्परानुसार पितृपूजा गरी मनाइएको माघे संक्रान्ति कार्यक्रममा ओम थापाले पूजा आराधना गरेका थिए । सो कार्यक्रममा मगर संघ यूकेका पूर्वअध्यक्षत्रय थर्क राना, दूत पुन र नेम थापा लगायतका अतिथिहरुको विशेष उपस्थिति थियो ।
इंग्ल्यान्ड राज्यको हमसायर, सर्रे र बर्कसायर काउन्टीमा बसोबास गर्ने मगरहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई शाखा अध्यक्ष हेमा रानाको अध्यक्षता गरेकी थिइन् भने बिर बलालले कार्यक्रम सञ्चालन गरेका थिए ।






