ब्ल्याक फ्राइडेको दिन बेलायतवासी नेपाली जोडीहरू सपिङसँगै प्रेमिल रोमान्समा रमाउँदै

SHARE:

प्रस्तुति: चिम्खोले काइँला, बेलायत।

नोभेम्बरको चिसो सिरेटोसँगै बेलायतका सपिङ मलहरूमा झुन्डिएका ‘ब्ल्याक फ्राइडे’ का आकर्षक छुटका बोर्डहरूले यतिबेला किनमेलको मात्र होइन, प्रेम र रोमान्सको माहोल पनि तताएको छ। अमेरिकाको एक आर्थिक सङ्कटबाट सुरु भएको ‘ब्ल्याक फ्राइडे’ आज ‘थ्याङ्क्सगिभिङ’, ‘बिग फ्राइडे’ र ‘साइबर मन्डे’ हुँदै विश्वभर एक विशाल किनमेल पर्वका रूपमा स्थापित भइसकेको छ। यही अवसर पारेर बेलायतवासी नेपालीहरू पनि आफ्ना जीवनसाथी तथा प्रेमिकाहरूलाई विशेष उपहार किनिदिन र उनीहरूसँग प्रेमिल पलहरू बिताउन उत्साहित देखिएका छन्।

यसै क्रममा, अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष तथा अल्डरसटस्थित विलिङटन सपिङ सेन्टरका सञ्चालक पुरन गिरीले ब्ल्याक फ्राइडेको दिन आफ्नी धर्मपत्नीलाई लिएर लन्डनको विश्वप्रसिद्ध ‘ह्यारोड्स’ मा विशेष सपिङ गर्ने र लन्डनकै विलासी होटेल ‘हिल्टन’ मा एक रोमान्टिक रात बिताउने योजना सुनाउनुभएको छ। त्यस्तै, तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले पनि तमु धिं युके आमा समूहकी अध्यक्ष एवं आफ्नी जीवनसंगिनी कमला गुरुङलाई मनपर्ने उपहारहरू किनिदिएर सपिङसँगै खुसी साट्ने बताउनुभएको छ।

यता, तमु धिं युकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङले पनि आफ्नी धर्मपत्नी प्रेमा गुरुङको हात समाउँदै सपिङ जाने र दिनलाई यादगार बनाउने योजना बनाउनुभएको छ। मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले त झन् एक दिन मात्र होइन, श्रीमतीलाई लिएर पूरै एक हप्ताको रोमान्टिक यात्रामा निस्कने तयारी गर्नुभएको छ।

कसरी सुरु भयो ब्ल्याक फ्राइडे?
रोमान्स र किनमेलको पर्व बनेको ब्ल्याक फ्राइडेको इतिहास पल्टाउँदा यसको सुरुवात सन् १८६९ मा अमेरिकामा भएको ठूलो आर्थिक मन्दीसँग जोडिएको पाइन्छ। २४ सेप्टेम्बर १८६९ मा अमेरिकाका दुई ठूला लगानीकर्ता जय गोल्ड र जिम फिस्कले सुनको बजार कब्जा गर्ने प्रयास गरेका थिए। तर, उक्त योजना असफल हुँदा अमेरिकी सेयर बजार नराम्ररी धराशायी भयो र धेरै मानिसहरू टाट पल्टिए। इतिहासमा त्यही कालो दिनलाई पहिलो पटक ‘ब्ल्याक फ्राइडे’ भनिएको थियो।

आधुनिक समयमा किनमेलसँग जोडिएको यसको कथा भने सन् १९५०–१९६० को दशकमा अमेरिकाको फिलाडेल्फिया सहरबाट सुरु भएको हो। प्रत्येक वर्ष ‘थ्याङ्क्सगिभिङ’ को भोलिपल्ट शुक्रबार किनमेल गर्ने र शनिबार हुने चर्चित फुटबल खेल हेर्न आउने मानिसहरूको फिलाडेल्फियामा अत्यधिक भिड लाग्थ्यो। भिडभाड, ट्राफिक जाम र चोरी नियन्त्रण गर्न प्रहरीहरूले निकै कडा र लामो समय ड्युटी गर्नुपर्थ्यो। हैरान भएका स्थानीय प्रहरीहरूले नै त्यो दिनलाई ‘ब्ल्याक फ्राइडे’ नाम दिएका थिए।

सुरुमा व्यापारीहरूलाई यो नकारात्मक नाम मन परेको थिएन। सन् १९८० को दशकमा उनीहरूले यसको नाम फेरेर ‘बिग फ्राइडे’ राख्ने प्रयास गरे पनि त्यो सफल भएन। पछि व्यापारीहरूले नै यसको नयाँ र सकारात्मक अर्थ निकाले। लेखाशास्त्रमा घाटालाई रातो मसी र नाफालाई कालो मसीले लेख्ने चलन थियो। वर्षभरि घाटामा गएका पसलहरू यस दिनको अत्यधिक बिक्रीपछि नाफामा जाने भएकाले यसलाई खुसी र समृद्धिको दिनका रूपमा प्रचार गरियो।

हरेक वर्ष नोभेम्बर महिनाको चौथो शुक्रबार (थ्याङ्क्सगिभिङको भोलिपल्ट) मनाइने यस दिनलाई क्रिसमस र नयाँ वर्षको किनमेल सिजनको आधिकारिक सुरुवात मानिन्छ। यस अवसरमा अमेजन, वाल्मार्ट, दराज लगायतका ठूला मल र अनलाइन प्लेटफर्महरूले इलेक्ट्रोनिक्स, लत्ताकपडा र घरायसी सामानमा भारी छुट दिने गर्दछन्।

नेपालमा समेत ‘ब्ल्याक फ्राइडे सेल’ को रौनक बढ्दै गएको छ भने प्रवासमा रहेका नेपालीहरूले यसलाई सपिङको बहानामा आफ्ना प्रियजनसँग प्रेम साट्ने र रमाइलो गर्ने एक सुन्दर उत्सवका रूपमा मनाउन थालेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!