एटा संवाददाता
लन्डन । पोखरेली मञ्च यूकेले सफल पोखरा म्याराथनलाई सहयोग गर्ने भएको छ । गत शनिबार १ फेब्रुअरीका दिन फार्नबरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा पत्रकार सम्मलेनको आयोजना गरी मञ्चले सो जानकारी दिएको हो ।

मञ्चले गत वर्ष पहिलोपटक सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहयोगार्थ आर्थिक संकलन सँगसँगै बेलायतबाट स्वंय आपूmहरु समेत गई म्याराथनमा भाग लिएको बताउँदै सोही सहयोगलाई निरन्तरता दिन लागिएको प्रस्ट्यायो । पोखरा म्याराथनलाई अझ व्यवस्थित गर्दै साँच्चैकै अन्तर्राष्ट्रिय म्याराथनको रुपमा विकास गर्दै लैजाने र भिजिट नेपाल २०२० को अवसरमा नेपालमा पर्यटक भित्र्याउने उद्देश्यअनुरुप यस वर्ष पनि सहयोगी संस्थाको भूमिका खेल्ने मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिए ।
भूतपूर्व खेलाडी मञ्च पोखराले आयोजना गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १४ औं संस्करण आउने २०७६ साल फागुन ३ गते अर्थात् १५ फेब्रुअरी २०२० का दिन पोखरा रंगशालामा हुँदैछ । ४२ किमि, १० किमि, ५ किमि, ४०० मिटर, १०० मिटर व्हिलचियर दौड लगायतका आयोजना हुँदैछ ।
म्याराथनको सहयोगार्थ करिब पाँच लाख रुपैयाँ सहयोग संकलन भइसकेको म्याराथन अभियानकी बेलायत संयोजक पूर्वखेलाडी मञ्जु गुरुङ राईले जानकारी दिइन् । उनले गत वर्ष सात लाख ५० हजार रुपैयाँ सहयोगसहित बेलायतबाट पनि ठूलो संख्यामा पोखरा गई दौडमा भाग लिएको जनाइन् । साथै, उनले यस वर्ष पनि गत वर्षभन्दा बढी रकम संकलन हुने विश्वास व्यक्त गर्दै सो म्याराथनमा भाग लिनका लागि ८ पटक म्याराथनमा भाग लिइसकेका सन्तोष राई, पाण्डव महतो लगायत थुप्रै नेपालीहरु बेलायतबाट पोखरा जान लागेका बताइन् ।
त्यस्तै, उनले पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा भाग लिनका लागि १८ वटा देशबाट विदेशीहरु जान लागेको बताउँदै सो प्रतियोगितामा प्रथम हुने नेपाली धावकलाई बेलायतमा आयोजना हुने म्याराथनमा दौडने व्यवस्था मिलाउने समेत विश्वास दिलाइन् । कार्यक्रममा एनआरएनए यूके खेलकुद संयोजक ह्यारी गुरुङ, पोखरेली मञ्चका संस्थापक अध्यक्ष क्या. चन्द्रबहादुर पुन, साउथ लन्डन नेप्लिज कम्युनिटीका शेर पुन, ग्रेटर रस्मुर नेपाली कम्युनिटीका उपाध्यक्ष मान गुरुङ लगायतको सहभागिता थियो ।
करिब १० हजारको संख्यामा म्याराथनमा सहभागी हुने लगायत विस्तृत जानकारी गराउँदै एनआरएनए यूकेका पूर्वअध्यक्ष तथा संरक्षक सूर्य गुरुङले आफू एनआरएनए यूकेको अध्यक्ष हुँदा सो म्याराथनका लागि आर्थिक सहयोग गरिएको स्मरण गराए । उनले खेलले पहिलो पुस्ता र दोस्रो पुस्ताका नेपालीलाई जोड्ने विश्वास व्यक्त गरे । उनले कार्यक्रमलाई गण्डकी प्रदेशका मुख्यमन्त्री, स्थानीय महानगरपालिकाका मेयर, स्थानीय प्रहरी प्रशासन लगायतको साथ र समर्थन रहेको बताउँदै प्रतियोगिता सम्पन्न गर्नका लागि ३६ लाख नेपाली रुपैयाँ खर्च हुने जनाए ।
कार्यक्रममा वार्नेट काउन्सिलका उपमेयर लक्ष्य गुरुङ, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, पूर्वअध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए आईसीसी सदस्य योगकुमार फगामी, तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी लगायतले म्याराथन सफलताको शुभकामना दिएका थिए । त्यस्तै, म्याराथन धावक सन्तोष राई, पाण्डब महतो लगायत धावकहरुले आ–आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रममा पोखरेली मञ्च यूके उपाध्यक्ष एवं पूर्वडिएसपी वाचस्पति रेग्मीले सबैलाई धन्यवाद दिँदै आ–आफ्नो तर्फबाट सहयोग गर्न अपील गरे ।
नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष धु्रवराज अर्याल, सचिव जगन कार्की, पूर्ण गुरुङ, सदस्य जीवन सेन लगायत पत्रकारहरुको विशेष उपस्थिति रहेको थियो । पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ संयोजक कमल गुरुङले स्वागत मन्तव्य दिएका थिए भने संयोजक मञ्जु गुरुङ राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।






