एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिताको तयारीमा आयोजक तमुधिं यूके जुटेको छ । १० हजारभन्दा बढी दर्शकहरुको सहभागिता रहने सो खेलको १८ औं संस्करण आउने २४ मे आइतबारका दिन अल्डरटस्थित क्विन्स एभिन्यूमा हुँदैछ ।

खेललाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि गत शनिबार २२ फेब्रुअरीका दिन मिचेटस्थित तमुधिं भवनमा पहिलो तयारी बैठक बसेको हो । सो बैठकमा तमुधिं यूकेका खेलकुद सचिव क्याप्टेन पिताम्बर गुरुङले खेललाई व्यवस्थित रुपमा सम्पन्न गर्नका एउटा कमिटी गठन गरिएको जानकारी दिए । साथै, उनले पावर पोईन्टमार्फत क्रमिक रुपमा आयोजकले खेल्नुपर्ने भूमिका लगायत विषय प्रस्तुत् गरेका थिए भने सहभागी कार्यसमितिका पदाधिकारी तथा सदस्य, आजीवन सदस्य र सल्लाहकारहरुको विभिन्न सल्लाह र सुझाव दिएका थिए ।
गोर्खा कप फुटबल प्रतियोगिता बेलायतमा नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरुमध्ये सम्भवत सबभन्दा ठूलो कार्यक्रम हो । जहाँ ४० वटा भन्दा बढी टिमले भाग लिन्छन् भने १० हजार भन्दा बढीको संख्यामा दर्शकहरुको सहभागिता रहने गर्दछ । खेललाई अझ व्यवस्थित र सफल बनाउन आयोजक तमुधिं यूकेका सिंगो कार्यसमिति, आजीवन सदस्य र सल्लाहकारहरु आ–आफ्ना क्षेत्रबाट लाग्ने जनाइएको छ ।
तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव तुलाराम गुरुङले बैठक सञ्चालन गरेका थिए ।






