एटा संवाददाता
लन्डन । नेपाली राजदूतावास लन्डन र शान्ति नेपाली समाज बेलायतको संयुक्त आयोजनामा बेलायतको बर्मिङघममा नेपालको पर्यटन प्रवद्र्धन गर्न २ मार्च २०२० मा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा प्रमुख अथिति स्याण्डवेल काउन्सिलका मेयर डा. एन जारोनले आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै आफू सधैं नेपालको प्राकृतिक, सांस्कृतिक तथा अन्य विविधताप्रति मोहित भएको र ब्रिटिस नागरिकहरुलाई नेपाल भ्रमण गर्न सधैं प्रोत्साहन गरिरहने बताएका थिए ।
नेपाली राजदूतावासका उपनियोग प्रमुख शरदराज आरणले कोरोना भाइरस संक्रमण विस्तारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम स्थगित गरिएको भए तापनि आफ्नो अनुकुलता र भ्रमण गर्ने वातावरण तयार भएपछि नेपाल भ्रमण गर्नको लागि अनुरोध गरे । कार्यक्रममा पवन कँडेलले नेपालको ऐतिहासिक पक्षका साथै प्राकृतिक, सांस्कृतिक सुन्दरता लगायतका विषयमा एक प्रस्तुति दिएका थिए । ब्रिटिस नागरिक एडी वोयनले आफूले नेपाल भ्रमण गर्दा देखेका सुन्दर पक्षहरुबारे प्रकाश पार्दै आगामी दिनमा नेपाल भ्रमण गर्नका लागि अपिल गरे ।
कार्यक्रममा शान्ति नेपाली समाज बेलायतका उपाध्यक्ष जयन्ती थापाले स्वागत मन्तव्य र अध्यक्ष लिला थापाले समापन मन्तव्य व्यक्त गर्दै शान्ति नेपाली समाज नेपालको पर्यटन प्रवद्र्धन गर्न उत्साहित रहेको व्यहोरा जानकारी दिए ।
कार्यक्रममाम विभिन्न स्थानीय कलाकारहरुले नृत्य र झाँकी प्रस्तुत गर्नुका साथै नौमती बाजा समूहले विशेष संगीत प्रस्तुत गरी अथितिहरुको स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित प्रमुख अथिति लगायत काउन्सिलर र अथितिहरुलाई नेपालको पर्यटन प्रवद्र्धन सामग्रीहरु प्रदान गरिएको थियो ।






