लन्डन । लन्डनस्थित नेपाली दूतावास र नेप्लिज सेफ एसोसिएसन यूकेको सहकार्यमा गर्न लागिएको ‘खाना महोत्सव’स्थगित गरिएको छ ।
बेलायतमा समेत कोरोना भाइरस संक्रमण फैलिएपछि जनस्वास्थ्यको ख्याल गर्दै कार्यक्रम स्थगित गरिएको हो । आउँदो अप्रिल ६ तारिख सोमबार दूतावासमा महोत्सव गर्ने तयारी थियो ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरनले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले पछि नयाँ मिति तय गरिने बताए । महोत्सवमा बेलायतस्थित विभिन्न मुलुकका कुटनीतिज्ञ, स्थानीय मेयर, काउन्सिलरसहित करिब ५ सय जना गैरनेपाली समुदायका अतिथिहरु निम्त्याउने बताइएको थियो । बेलायतमा नेपाली ‘कुइजिन’ प्रवर्द्धन गर्ने महोत्सवको खास लक्ष्य हो ।
एसोसिएसनका प्रवक्ता राजु बोहोराले यसबाट पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै नयां मिति तय भएपछि जानकारी दिइने र कार्यक्रम विगतकै योजना अनुसार भव्य गरिने बताए । कोरोना भाइरसका कारण अहिले विश्व नै आतंकित छ । बेलायतमा यही भाइरसका कारण मंगलबारसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् भने ३७३ जनामा संक्रमण भएको छ ।






