लन्डन । गैर आवासीय नेपाल संघ (एनआरएनए यूके) बेलायतले कोरोना भाइरसको महामारी फैलिरहेको अवस्थामा सकेसम्म कुनै पनि भ्रमण नगर्ने बेलायतवासी नेपालीसहित सरोकारवाला सबैमा अनुरोध गरेको छ ।

अध्यक्ष पुनम गुरुङ, महासचिव फडिन्द्र भट्टराईले संयुक्त रुपमा शुक्रबार (मार्च १३) मा अत्यन्त जरुरी सूचना निकालेर सो आग्रह गरेका हुन् । ‘कोरोना भाइरसको महामारीबाट उत्पन्न वर्तमान विषम परिस्थितिमा सकेसम्म कुनै पनि भ्रमण नगर्नु हुन गैर आवासीय नेपाली संघ बेलायत सम्बन्धित सबैमा अनुरोध गर्दछ’, सूचनामा उल्लेख छ, ‘नेपाल सरकारले भर्खरै जारी गरेको भ्रमण निर्देशिकाको आधारमा वर्तमानमा नेपाल यात्रा गर्ने कुनै योजना नबनाउन र प्लान भइसकेको अवस्थामा समेत भ्रमणलाई पछि सार्न अथवा रोक्नु हुन अनुरोध गरिन्छ ।’
एनआरएनए यूकेले आकस्मिक रुपमा भ्रमण गर्न अत्यन्तै जरुरी भएमा हेल्थ सर्टिफिकेट उपलब्ध बनाउँदै नेपाली दूतावास लन्डनमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।








