एटा संवाददाता
लन्डन । चीनको हुवाङ सहरबाट गत डिसेम्बर २०१९ मा सुरु भएको नोवल कोरोना भाइरस (कोभिड–१९) ले संसारभर उदण्ड मच्चाउँदै आएको छ । उक्त भाइरसका कारण अहिलेसम्म ६५०० जनाले ज्यान गुमाइसकेको अवस्था छ भने डेढ लाखभन्दा बढी संक्रमित छन् । त्यस्तै, हजारौं स्वस्थभई घर फर्किसकेका पनि छन् ।
बेलायतकै सन्दर्भलाई हेर्ने हो भने १६ मार्च सोमबार बिहान ९ बजेसम्म करिब १५०० जनामा पोजेटिभ देखिएको छ । जसमध्ये ३५ जनाले ज्यान गुमाइसकेका छन् भने करिब ४५ हजार जनामा परीक्षण गरिएकोमा १५०० जना पोजेटिभ भेटिएका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
नोवल कोरोना भाइरस (कोभिड–१९) बाट नेपाली कार्यक्रमहरु पूर्णरुपमा प्रभावित भएका छन् । यसै मार्च महिनामा मात्र थुप्रै कार्यक्रमहरु तय भएसकेको भए तापनि सोही भाइरसका कारण आयोजक संस्थाहरुले कार्यक्रम स्थगित गरेका हुन् ।
यसअघि तय गरिएको ५५ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उल्मूलन दिवस, रमझम लेडिज नाईट, यलम्बरहाङ्ग कप, तेह्रथुम समाज यूकेको च्यारिटी डिनर कार्यक्रम, कियाचु यूकेको महिला विभागले आयोजना गर्न लागेको हाजिरी जवाफ प्रतियोगिता लगायत थुप्रै कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ ।
जनवारबाट मानिसमा मात्र होइन, मानिसबाट मानिसमा केवल सम्पर्ककै आधारमा सो भाइरस सहजै सर्न थालेपछि विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको हो । चीनमा करिब–करिब नियन्त्रणा भएको सो रोगबाट इटालीमा थुप्रैको ज्यान लिएपछि इटाली सरकारले करिब ६ करोड जनतालाई घरमै बस्न आदेश दिएको छ । सोही अनुसार अमेरिकाले आपत्कालीनको घोषणा गरी युरोपियन मुलुकका हवाई यातायातलाई रोकसमेत लगाएको छ । त्यस्तै, युरोपका विभिन्न राष्ट्रले समेत सो रोगबाट बच्न विभिन्न उपायहरु अबलम्बन गरेको छ । तर, नेपालमा अहिलेसम्म एक जनामा कोरोना भाइरस भएर निको भइसकेको छ भने भारतमा दुईजनाको ज्यान लिएको छ ।
बेलायत सरकारले सो भाइरसबाट बच्नका लागि लगातार खोकी लागिरहेको छ वा ज्वरो आएको छ भने ७ दिनसम्म घरमै एक्लै बस्न सुझाव दिएका छन् । ७ दिनपश्चात् पनि लक्षणमा परिवर्तन नआए अवस्थामा मात्र सम्बन्धित निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन् । त्यस्तै, ७० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाहरुलाई पनि घरमै सुरक्षित रहनसमेत अनुरोध गरिएको छ ।
केही वर्षदेखि बेलायतमा ७० वर्ष नाघेका थुप्रै भूतपूर्व गोर्खाहरु समेत बसोबास गर्दै आएका छन् । कतिपय वृद्धवृद्धाहरु एक्लै बसिरहेको अवस्था छ । र, उनीहरु खाद्य सामग्री खरिद गर्न बाहिर निस्कनु पर्ने बाध्यता भएकाले पनि वृद्धवृद्धाहरुमा थप जोखिम देखिएको छ । सो सम्बन्धमा भूतपूर्व गोर्खाजसँग सम्बन्धित संघसंस्थाका साथसाथै सिंगो नेपाली समुदायले विशेष चासो राख्नु पर्ने धेरैको सुझाव छ ।







