लन्डन । बेलायतले कोरोना भाइरस (कोभिड १९) परास्त गर्न अहोरात्र खटिएका चिकित्सक, नर्स र प्यारामेडिक्सको भिसा एक वर्ष थपिदिने भएको छ ।
स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न सरकारले बिनाशुल्क एक वर्ष भिसा अवधि स्वतः थपिदिने गृह मन्त्रालयले जनाएको हो । करिब २८ सय माइग्रेन्ट डाक्टर, नर्स र प्यारामेडिक्सको भिसा १ अक्टोबर, २०२० अघि सकिने भए ती र परिवारको भिसा स्वतः थपिने गृहमन्त्री प्रिती पटेलले एक विज्ञप्तिमा जनाएकी छन् । महामारीका बेला ति स्वास्थ्यकर्मीलाई भिजा थपका लागि झन्झट बेहोर्नु नपरोस् भन्ने गृहमन्त्रीको चाहना छ ।
लन्डनस्थित एकजना कानूनविद सोलिसिटर राजु थापाका अनुसार, अहिलेको जटिल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले ट्रेनी डाक्टर नर्सलाई एनएचएसमा तोकिएको घण्टामात्र काम गर्न पाउने प्रतिवन्ध पनि फुकुवा गरेको छ । तर, भिसा स्वतः थपिने सुविधा केयर वर्करलाई भने नदिंदा यसप्रति असन्तुष्टि व्यक्त भएको छ ।

केयर वर्कर्स युनिटकी एक्जुकेटिभ डिरेक्टर क्यारोलिन गेरलिचले होम अफिसको यो नीति विभेदपूर्ण रहेको बताउंदै यो सुविधा उनीहरुलाई पनि दिइनुपर्ने माग गरेकी छिन् ।






