चौथो विश्व नेपाली ज्ञान सम्मेलनको तयारीबारे परराष्ट्र मन्त्रालयमा छलफल, सरकार–एनआरएनए सहकार्यमा जोड

SHARE:

काठमाडौं । विदेशमा रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा दोस्रो पुस्ताका नेपालीको ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको विकाससँग जोड्न सरकार, विश्वविद्यालय, निजी क्षेत्र तथा गैरआवासीय नेपालीबीच प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजना हुन लागेको चौथो विश्व नेपाली ज्ञान सम्मेलनको तयारीका सम्बन्धमा बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित जानकारी तथा छलफल कार्यक्रममा सहभागी वक्ताहरूले डायस्पोरामा रहेको ज्ञान र विशेषज्ञतालाई नेपालको राष्ट्रिय विकासका प्राथमिकतासँग जोड्न स्पष्ट नीतिगत व्यवस्था, संस्थागत समन्वय र परिणाममुखी कार्ययोजना आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले गैरआवासीय नेपाली संघलाई नेपालको अभिन्न तथा विश्वसनीय साझेदारका रूपमा उल्लेख गर्दै विश्वभर रहेका नेपाली डायस्पोराको ज्ञान, सीप, अनुभव, प्रविधि र पुँजीलाई नेपालको विकाससँग जोड्नुपर्ने बताउनुभयो।

उहाँले सरकार र डायस्पोराबीच साझा सोच, प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रयास परिणाममुखी र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिनुभयो। चौथो विश्व नेपाली ज्ञान सम्मेलनले विश्वभर छरिएर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा ज्ञान र प्रविधिका क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई एउटै मञ्चमा जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उहाँको भनाइ थियो।

सम्मेलन सफल बनाउन नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले सम्मेलनमा जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विज्ञ तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिताले सम्मेलनलाई थप उपलब्धिमूलक बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले सम्मेलनबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई महत्वपूर्ण रूपमा लिइने बताउँदै संघले आगामी दिनमा पनि यस्ता छलफल र अन्तरक्रियालाई निरन्तरता दिने जानकारी दिनुभयो। साथै, संघले हाल पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्नुभयो।

एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीले डायस्पोराको ज्ञान, सीप र अनुभवलाई व्यावहारिक रूपमा नेपालको विकासमा उपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले ज्ञान तथा सीप आदानप्रदान र दोस्रो पुस्तामा ज्ञान हस्तान्तरणलाई दीर्घकालीन सहकार्यको आधार बनाउनुपर्नेमा जोड दिनुभयो।

एनआरएनएका सल्लाहकार डा. पुरु श्रेष्ठले विश्वको जुनसुकै कुनामा रहेका नेपाली विज्ञले प्रविधिको माध्यमबाट नेपालमा योगदान दिन सक्ने सम्भावना रहेको बताउनुभयो। उहाँले ज्ञान सम्मेलन, महिला सम्मेलन र दोस्रो पुस्ताका गैरआवासीय नेपाली सम्मेलन एकै समयमा आयोजना गर्नुको उद्देश्य यी तीनवटै विषय एकअर्कासँग अन्तरसम्बन्धित हुनु रहेको स्पष्ट पार्नुभयो।

दोस्रो पुस्तालाई सुरुदेखि नै सहभागी नगराएसम्म दीर्घकालीन लगानी, ज्ञान आदानप्रदान र नेपालको विकासमा उनीहरूको निरन्तर सहभागिता सुनिश्चित गर्न कठिन हुने उहाँको भनाइ थियो। उहाँले महिला सहभागितालाई समेत विशेष प्राथमिकता दिइएको उल्लेख गर्नुभयो।

विदेशमा रहेका नेपाली डायस्पोराको ज्ञान र क्षमतालाई पहिलो पुस्तामा मात्र सीमित नराखी दोस्रो पुस्तासँग पनि दीर्घकालीन सम्बन्ध स्थापित गर्नुपर्ने विषयमा वक्ताहरूले जोड दिएका थिए।

आगामी जनवरी ३ मा पहिलोपटक दोस्रो पुस्ताका गैरआवासीय नेपाली सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिँदै कार्यक्रममा वक्ताले आफू र कृतिले नेपाली संस्कृति तथा उद्यमशीलतासम्बन्धी दुईवटा सत्रको नेतृत्व गर्ने बताउनुभयो।

दोस्रो पुस्ताका नेपालीलाई आफ्नो सांस्कृतिक पहिचानसँग जोड्ने मात्र नभई उनीहरूको विचार, आवाज र क्षमतालाई नेपालको भविष्य निर्माणमा सहभागी गराउनु सम्मेलनको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो।

ब्रेन ड्रेन (प्रतिभा पलायन) लाई ब्रेन सर्कुलेसन (प्रतिभाको आवागमन तथा आदानप्रदान) मा रूपान्तरण गर्नुपर्ने विषयमा पनि कार्यक्रममा विशेष चर्चा भएको थियो।

काठमाडौं विश्वविद्यालयका राजेन्द्र जोशीले विदेशमा रहेका नेपाली विज्ञ र नेपालका विश्वविद्यालयबीचको सहकार्यलाई व्यक्तिगत सम्बन्धमा मात्र सीमित नराखी संस्थागत बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाबीच भ्रमण र छलफल भइरहे पनि अपेक्षित ठोस उपलब्धि हासिल हुन नसकेको बताउँदै सहकार्यलाई मापनयोग्य नतिजासँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

छलफलमा विभिन्न मन्त्रालय, प्राज्ञिक क्षेत्र र उद्योग क्षेत्रका प्रतिनिधिहरूले सम्मेलनलाई थप उपलब्धिमूलक बनाउन आ–आफ्ना सुझाव दिएका थिए।

कार्यक्रमको सहजीकरण परराष्ट्र मन्त्रालयको गैरआवासीय नेपाली महाशाखाका प्रमुख पुष्पराज भट्टराईले गर्नुभएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!