रोशन मेवाहाङ्ग
लन्डन । बेलायतवासी किरात राईहरुले आफ्नै भूमि ग्याम्बलस लेन, रिप्ले अवस्थित माङखिम तथा साकेलास्थल (किरात राई घर) मा उभौली यलेदोङ ५०७८ (विं सं. २०७५) साकेला पर्व भव्य रुपमा मनाएका छन् ।
किरातहरुले हरेक वर्ष साकेला पर्व तथा उभौली सिली प्रतियोगिता धुमधामसँग मनाउने चलन छ । किराती धामी (नाछोङ)ले टाउकोमा सेतो फेटा लगाई सुम्निमा–पारुहाङ्गको तस्बिर, ढोल र झ्याम्टासहित सेउलीको थानमा उभौली भूमिपूजा गरी थान वरिपरि नाचेर विधिअनुरुप कार्यक्रमका सुरुआत गरिएको थियो । किरात राई यायोक्खा बेलायतका अध्यक्ष पदमबहादुर राईको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी थिए भने बेलायतमा क्रियाशील संघसंस्थाका प्रतिनिधि र दर्शकहरुको बाक्लो उपस्थिति थियो ।
“सिमली सेउली गाडेर देवी र देउता भाकेर
पुर्खाको रीति साकेला मनाऔं सिली नाचेर
सोई सोइला हो सोई सोइला ।”
पृष्ठभूमिमा सहभागीहरु यस्ता भाकाका गीतमा रमाइरहेका थिए । यस्ता भाकाका गीतहरु यो महिना विशेष गरेर स्वदेश तथा विदेशी किराती गाउँबस्तीहरुमा गुञ्जयमान भइरहेको छ । ज्यान फनफनी घुमाउँदै, खुट्टा हल्लाउँदै युवायुवतीहरुले नाचेको दृश्य देख्दा र साकेला सिली सुन्दा ६५ वर्षीय रत्नकुमार राई आफ्नो यौवन सम्झाएको बताउँछन् । युवाहरुको जोसिलो साकेला सिली देखेर उनी धेरै उत्साहित थिए । बुढापाका मात्रै होइन् बालबालिका र अन्य जातिहरु पनि साकेला नाचेर मनोरञ्जन गरिरहेका थिए ।
कुन ठाँउमा बढी मात्रमा मनाइन्छ ?
साकेला पर्व राईहरुको महान् चाड हो । यो वर्षमा दुई पटक उभौली (बैशाखे पूर्णिमा) र उधौली (मङ्सिरे पूर्णिमा)मा धुमधामले मनाइन्छ । साकेला नाँच राजधानी काठमाडांैलगायत नेपालका पूर्वी जिल्लाहरु विशेष गरेर पाँचथर, ईलाम, झापा, मोरङ कानेपोखरी, सुनसरी, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुर, धनकुटा र संखुवासभामा बसोबास गर्ने किराती बस्तीहरुमा लोकप्रिय छ ।
त्यसैगरी अन्तर्राष्ट्रियस्तरमा किराती जनघनत्व भएका देशहरु भारत, सिक्किम, दार्जिलिङ, अमेरिका, बेलायत, हङकङ, जापान, कोरिया मलेसिया, कतार, अस्टे«लिया र बु्रनाईमा समेत अहिले भव्यरुपमा साकेला पर्व मनाउने प्रचलन बढेको देखिन्छ ।
प्रदेश १ लाई किरात प्रदेशको नामकरण अभियान यस पटकको उभौली साकेला पर्व पहिचानसँग जोड्दै मनाइएको छ । किरात राई यायोक्खा बेलायतले प्रदेश १ लाई किरात राज्य नामकरण गरिने अभियान सोही दिन थालनी गरेको थियो । संघका कोषाध्यक्ष रिटायर्ड मेजर दिलकुमार राईले किरात राज्यका निम्ती प्रचारप्रसार गरिरहेका थिए । भौगोलिक र सभ्यताको आधारमा किरात राज्य नामकरण गरियोस् भन्दै सिली संयोजक भूपजीत राईले मञ्चबाट सम्बोधन समेत गरेका थिए ।
साकेला खासमा के हो ?
नेपालका आदिवासी किरात राईहरुको आफ्नै पहिचान छ । आफ्नो धर्म, भाषा, संस्कृति रहेको किरात समुदायले साकेला पर्व मनाउँदै आएको पाइन्छ । वसन्त ऋतुको आगमनसँगै यस धर्तीमा बोटबिरुवाहरुले पालुवा फेर्न थाल्छन् । वन–जङ्गलमा चराचुरुङ्गीहरुले आ–आफ्नो भाका फेर्न थाल्छन् ।
नयाँ वर्षको आगमनसँगै वैशाखे पूर्णिमादेखि औंसीसम्म किराती गाउँघरका बूढापाकाहरु साथै केटाकेटीहरु ढोल झयाम्टा निकालेर झन्डै १५ दिनसम्म यसमा रमाउँछन् । वास्तवमा यो पर्व किरातीहरुले खेतीपाती लगाउने समय भएकोले अन्नबाली वा उब्जनी बढोस्, आँधीबेहरी, असिना नपरीदियोस्, अन्नबालीमा रोग नलागोस् भनि सुम्निमा र पारुहाङ्गसँग बल र शक्तिको आशीर्वाद माग्दै कुखुराको भाले बली दिएर भूमी पुज्ने चलन छ ।
बालबालिका, वृद्ध सबै आपसमा गोलो घेरा लगाएर विभिन्न जनावर, चराचुरुङ्गीहरुको नक्कल गर्दै साकेला नाँच सिली नाच्ने गरिन्छ । विशेष चउरीको पुच्छर (पोमी) र छिर्लिङ (सिलीमा) नाचको मुल्की (सिलीमोपा) ले प्रयोग गर्ने प्रचलन छ ।
वेषभूषा
नाँचमा सहभागी पुरुषहरुको पोसाक, खाडीको दौरा सुरुवाल, कोट र ढाका टोपी लगाई, विनायो, मुर्चुङ्गा, लिम्चिङबुङ, मयूर र लुइँचेको प्वाख लगाउने प्रचलन छ भने महिलाले छिटको गुन्यु, ढाकाको पछ्यौरी, मखमल वा ढाकाको चोलो र सेतो पटुकी लगाई ढुङ्ग्री, मुन्द्री, बुलाकी, हारी, सिक्काको मालाजस्ता गरगहना लगाउने चलन छ ।
साकेला उभौली बाली लगाउने बेलामा वैशाख पूर्णिमाको दिन र उधौली बाली उठाउने बेला मङ्सिर पूर्णिमाको छेकमा मनाउने गरिन्छ । किरातहरुको मुन्धुम अनुसार १ वर्षलाई दुई भागमा बाँडिन्छ (उभौली र उधौली) यसैको रुपमा यो चाड मनाउने परम्परा छ । उभौली र उधौली किरात समुदायको मुख्य चाड हो । याक्खाले चासुवा, सुनुवारले फोलफ्यादर, लिम्बूले चासोक तङनाम र राईहरुले उभौलीलाई साकेला र उधौलीलाई छौवा भन्ने गरिन्छ ।
यसै सन्र्दभमा अभिभावक र बुद्धिजीवीहरु भन्छन्– प्रवासमा रहे पनि आफ्नो धर्म, संस्कृति, संस्कार, परम्परा र चाड मनाउँदै भावी सन्ततिहरुलाई सिकाउँदै लैजानु पर्दछ ।
प्रतियोगिता बन्यो रोचक पक्ष
बेलायतवासी किरात राईहरुको १४७ रोपनी जग्गा रहेको आप्mनै भूमि माङ्खिम तथा साकेला स्थलमा वि. सं. २०७३ सालबाट साकेला थालनी गरिएको हो । माङ्खिम मूलघर (पूजाघर) निर्माण कार्य चाडै सुरुआत गरिने अध्यक्ष पदम राईले जानकारी दिए ।
बेलायत निवासी हजारौं किरात राई तथा अन्य नेपाली समुदायको उपस्थिति रहेको यो वर्षको साकेलामा ९ प्रारम्भिक कार्यसमितिले फरक फरक प्रतियोगितात्मक साकेला सिली प्रदर्शन गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा साकेला सिली संयोजक रिटायर्ड मेजर भूपजीत राईले प्रतिस्पर्धीहरुमध्ये प्रथम स्थान मेडस्टोन केन्ट, द्वितीय ग्रेटर रसमोर र फोक्सटन केन्ट प्रारम्भिक कार्यसमिति तृतीय स्थानमा विजयी भएको नतिजा घोषणा गरेका थिए ।
घोषणापछि अध्यक्ष राईले प्रथम स्थान मेडस्टोन केन्टका अध्यक्ष पत्रकार देवेन्द्र खेरेसलाई नेपाली रुपैयाँ नगद ५० हजार, द्वितीय ग्रेटर रसमोरलाई नगद ४० हजार र तृतीय स्थान हात पार्न सफल फोक्सटन, केन्ट प्रारम्भिक कार्यसमितिलाई २५ हजार र शिल्ड पुरस्कार दिँदै बधाई दिएका थिए ।
प्रतियोगिताको वेषभूषामा केन्टवरी प्रारम्भिक कार्यसमिति चयन भयो भने उत्कृष्ट ढोलेको उपाधि ग्रेटर रसमोर प्रारम्भिक कार्यसमितिका महेन्द्र राईले पाए । करिब १० हजार दर्शक उपस्थित रहेको साकेला कार्यक्रमकमा नेपाली रुपैयाँ ३५ लाख संकलन भएको कोषाध्यक्ष रिटायर्ड मेजर दिलकुमार राईले जानकारी दिइएको कार्यक्रमलाई रिटायर्ड मेजर सुमनचन्द्र राईले पूर्णरुपमा संयोजन गरेका थिए । संघका उपसचिव चन्द्रवती राई र रेडियो प्रस्तोता प्रमिला राईले संयुक्त रुपमा कार्यक्रमलाई सञ्चालन गरेका थिए ।






