लन्डन ४ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विविध कार्यक्रमका साथ बाल दिवस मनाउने भएको छ ।
भाद्र ४ अर्थात् २० अगस्टमा बालदिवस पर्ने भए पनि नेपाली महिलाहरुको चाड तीजअन्तर्गत दरखाने दिन परेकोले बाल दिवसको कार्यक्रम २३ अगस्ट आइतबार गर्ने निर्णय गरिएको संघकी अध्यक्ष पुनम गुरुङले जानकारी दिएका छन् । अध्यक्ष गुरुङले यसअघि भौतिक रुपमा कार्यक्रम गरेर बाल दिवस मनाउने योजना भए पनि कोरोना संक्रमणको खतरालाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट मनाउन लागिएको समेत बताइन् ।
उनका अनुसार त्यस अवसरमा एनआरएनए यूकेले यसअघि लकडाउनको बेला आयोजना गरेको चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने, प्रतियोगितामा सहभागीहरुलाई प्रमाण पत्र तथा विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिने छ । कार्यक्रममा बाल चित्रकला प्रतियोगिताका क्रममा संकलित बाल कलाकारहरुका चित्रहरुको पुस्तकाकार संगालो ‘कोपीला’को विमोचन पनि गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रवासमा हुर्केका नेपाली बालबालिकाहरुलाई गैर आवासीय नेपालीको रुपमा नेपालको संस्कृति, सभ्यता, र परम्परासँग साक्षात्कर गराउने प्रयासस्वरुप कोरोना भाइरसको माहामारीका बेला लकडाउन परी स्कुल छोडेर घरमै बस्न बाध्य भएका नेपाली बालबालिकाहरुलाई सहभागी गराई चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो । चित्रकला प्रतियोगिताअन्तर्गत बालबालिकाहरुले बनाएका चित्रहरु संकलन गरी चित्रकला पुस्तिकाको रुपमा प्रकाशन समेत गरिएको छ ।
बालबालिकाहरुको यो विशेष दिन बालदिवसमा आयोजित यस कार्यक्रममा सहभागी भएर सामाजिक संजालमार्फत बालबालिकाहरुलाई हौसला दिएर, प्रवासमा रहेको नेपाली बाल पुस्तालाई नेपाली संघको अभियानमा सहभागी गराउन सहयोग गर्न सबैमा गैरआवासीय नेपाली संघ बेलायतले आव्हान गरेको छ ।






