– सुधा गुरुङ

लन्डन । प्रीन्सेस गार्डेन, अल्डरसटमा निर्माण गर्न लागिएको प्रथम भीसी (भिक्टोरिया क्रस) पदक विजेता कुलवीर थापाको सालिक निर्माणका लागि बेजिङस्टोक नेपाली कम्युनिटी (बिएनसी) ले २००६ पाउन्ड सहयोग प्रदान गरेको छ ।
बिएनसीका तर्फबाट सो सहयोग रकमको चेक गत १५ अगस्ट शनिबार स्थानीय रश्मोर बरो काउन्सिल परिसरमा बिएनसी अध्यक्ष ओम गुरुङसहितको टोलीले भीसी थापाको सालिक निर्माणमा क्रियाशील गोर्खा मेमोरियल प्रोजेक्टलाई हस्तान्तरण गरेको हो । मेमोरियलका तर्फबाट मुख्य संयोजक मेजर रिटायर्ड खिम गौचन, ग्रेटर रश्मोर नेपाली कम्यूनिटीका अध्यक्ष रामधन राई, गोर्खा मेमोरियल प्रोजेक्टका कोषाध्यक्ष टोप पल्ली, प्रवक्ता ओमप्रसाद थापा लगायतले चेक बुझेका थिए ।
सो अवसरमा बिएनसी महासचिव नवराज राईसहित कार्यसमितिका पदाधिकारीहरु र सल्लाहकारहरु समेतको उपस्थिति थियो । भिसी सालिक निर्माणार्थ सहयोगका लागि बिएनसी ग्रुप भाईबरमार्फत रकम संकलन गरेको कुरा अध्यक्ष ओम गुरुङले एभरेस्ट टाईम्सलाई बताए । सन् २००६ सालमा स्थापित बिएनसीका संस्थापक अध्यक्ष एकमात्र जीवित भीसी क्याप्टेन रामबहादुर लिम्बुका ज्येष्ठ सुपुत्र क्याप्टेन भक्त लिम्बु हुन् । त्यत्तिबेला औलामा गन्न सकिने थोरै नेपाली हरुको समूहबाट स्थापित बेजिङ्गस्टोकमा हाल नेपालीहरुको बाक्लो बस्ती छ। झन्डै ४५० घर बिएनसीमा रजिस्टर्ड सदस्य छन् भने रजिस्टर नभएका गरी झन्डै ६ सय घरधुरी नेपालीहरुको बसोबास रहेको छ। बिएनसीमा बेलायती सैनिक परिवारहरु र गैरसैनिक विविध जातजातिहरु मिलेर बसेका छन् । साथै समाजले स्वदेश एवम् विदेशमा थुप्रै च्यारिटीहरुमार्फत सहयोग पुर्याउँदै आएको छ ।
हाल नेपालीहरुको घना बस्ती भएको अल्डरसटमा निर्माण गर्न लागिएको भीसी सालिक सहयोगार्थ बिएनसी स्थापना वर्ष २००६ भएकोले सो ऐतिहासिक प्रोजेक्टका लागि संस्थाको स्थापना वर्षसँगै मिलाएर सोही सरहको सहयोग रकम प्रदान गरिएको अध्यक्ष गुरुङले बताए ।

अन्य ४ संस्थाबाट ४ हजार सहयोग
गत १५ अगस्ट शनिबारका दिन नै भीसी सालिक प्रोजेक्टका लागि बेलायतस्थित अन्य ४ संस्थाले समेत सोही समारोहमा सहयोग हस्तान्तरण गरे । बेजिङ्गस्टोककै लाफा समूहबाट १ हजार १ पाउन्ड लाफा अध्यक्ष बेम थापाले, स्याङ्जा पेल्काचौर चौतारी गाउँले समाजबाट १ हजार ११ पाउन्ड सोही समाजका अध्यक्ष होम गुरुङले अध्यक्ष राईलाई हस्तान्तरण गरे ।
त्यस्तै गोर्खा हेरिटेज ट्रस्टबाट १ हजार २१ पाउन्ड र तनहुँ समाज यूकेबाट १ हजार १ सय १ पाउन्ड सहयोग हस्तान्तरण भएको गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाले जानकारी दिए ।
सहयोग हस्तान्तरणका क्रममा ग्रेटर रश्मोर नेपाली कम्यूनिटीका अध्यक्ष रामधन राईले सहयोगी संस्थाहरुप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संचालन प्रवक्ता थापाले गरेका थिए ।







