
लन्डन ९ भदौ । नेपाली दूतावास लन्डनले कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बेलायतमा मंगलबारसम्म ६९ नेपालीको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेहरुमा गोरखा र उनीहरुका परिवारसित सम्बद्ध ५८ जना रहेका छन् भने बाँकी ११ जना गैर गोरखा परिवारका छन् ।
यस्तै, कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा पुरुषको संख्या ५७ छ भने महिलाको संख्या १२ जना रहेको छ । सोमबार दिउँसो कोरोनाबाट संक्रमित ५१ वर्षीय साना शेर्पाको मृत्यु भएको छ । उनी शेर्पा संघ यूकेका अध्यक्ष थिए ।
गत जुलाई १३ मा केन्टको विलियम हार्भी अस्पताल भर्ना भएका गरिएको र उनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई लन्डनको सेन्ट थोमस अस्पताल सारिएको थियो । दुई हप्ता अघिको परीक्षणमा कोरोना मुक्त भएपनि कलेजोमा देखिएको समस्याका कारण उनको निधन भएको हो ।
बेलायतको सबैभन्दा कम उमेरमा कोरोना संक्रमणका कारण निधन हुनेमा बेलायत ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिङ राई रहेकी छन् ।
बेलायत सरकारले लागू गरेको नयाँ मापदण्डअनुसार कोरोना संक्रमण भएको २८ दिनभित्र भएको निधनलाई कोरोनाकै कारण भएको घोषणा गरिन्छ ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दै गएपनि संक्रमितको संख्या भने बढ्दै गएको छ ।
बेलायतमा हालसम्म कोरोनाबाट ४१ हजार ४ सय ३३ जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । तर, राष्ट्रिय तथ्यांक विभागले भने उक्त संख्यालाई वास्तविक संख्या नरहेको बताउँदै आएको छ ।






