लन्डन १७ भदौ । बेलायतको सुटिङ खेलको राष्ट्रिय टोलीमा भूतपूर्व गोरखा सैनिक विनोद बुढाथोकी पर्न सफल भएका छन् । ब्रिटिस सुटिङले मंगलबार सार्वजनिक गरेको ४२ सदस्सीय टोलीमा पूर्व गोरखा सैनिक बुढाथोकी परेका हुन् । उक्त टोलीमा रहेका खेलाडीहरुले अर्को वर्षको ओलम्पिक, पारा ओलम्पिक लगायतका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा बेलायतको प्रतिनिधित्व गर्ने छन् ।
राष्ट्रिय टीममा समावेश भए पनि उनले टोकियो ओलम्पिक भने खेल्न पाउने टुंगो लागिसकेको छैन । हालसम्म तय भएको टीममा उनी समावेश छैनन् तर यसबीचमा उनले नतिजामा उत्कृष्ट सुधार ल्याउन सके त्यो सम्भावना टरिसकेको पनि छैन ।
१० मिटरको एयर राइफलका खेलाडी बुढाथोकी आर्मीमा हुँदै सुटिङमा रुचि राख्थे । उनले रिक्रुट कम्पनीमा च्याम्पियन पनि भएका थिए तर बटालियनमा पुगेपछि उनले भनेजस्तो गर्न पाएनन् । बटालियनभित्रैको भेदभावले पनि उनलाई प्रोत्साहित गरेन ।
उनी आर्मीभित्रको नियमित कर्ममा तल्लीन हुँदै गए । यस्तैमा सन् २०१० मा अफगानिस्तानमा खटिँदा उनले विष्फोटक पदार्थमा टेकेका कारण दुवै खुट्टा गुमाउनु पर्यो । उपचारपछि उनलाई रिह्यावका लागि विभिन्न खेलमा लगियो । उनले हातले चलाउने साइक्लिङ लगायतको खेल खेले तर उनको मनमा चाहिँ समाजमा पुनर्स्थापनाका लागि होइन प्रतिस्पर्धात्मक खेल खेल्ने धोको थियो ।
सन् २०१५ देखि उनको सुटिङ कलामा असाध्यै सुधार भयो । त्यसैले सन् २०१६ को रियो ओलम्पिकमा उनलाई भविष्यको टीम जीबीको सदस्यका रुपमा प्रतिस्पर्धा कसरी चल्छ, के के प्रक्रिया हुन्छ देखाउन लगिएको थियो । जसको नाम नै ‘पर्सनल इन्सपिरेशनल प्रोग्राम’ दिइएको थियो । उनले नजिकबाट ओलम्पिकमा जाँदाको अनुभव लिएर फर्के । उनी हाल परिवारसहित बेलायतको मेडिस्टोनमा बसोबास गर्दै आएका छन् ।






