लन्डन २१ भदौ । संयुक्त राज्य बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी ब्रेकन, वेल्सको इन्फ्यान्ट्री ब्याटल स्कुल (IBS) मा स्वागत सम्मान गरिएको छ ।
४ तारिखमा ब्रेकन पुगेका राजदूत सुवेदीलाई सेप्टेम्बर ५ तारिख आइतबार स्वागत, सम्मान गरिएको हो । राजदूतसँग उनकी पत्नी पुनम, नेपाली राजदूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मी लगायत थिए ।
त्यस्तै राजदूत डा सुवेदीलाई गोर्खा विंग (मण्डले)मा आयोजना गरेको भव्य कार्यक्रममा मेजर प्रेमबहादुर गुरुङ एमबीई र क्याप्टेन बुद्धिबहादुर गुरुङले स्वागत तथा सम्मान गरेको थियो । राजदूतले ब्रेकनमा अवस्थित मन्दिरमा समेत भ्रमण तथा पूजाआजा गरेका थिए ।
राजदूत डा सुवेदी ब्रेकन टाउन काउन्सिलको निमन्त्रणामा ४ सेप्टेम्बरका दिन ब्रेकन पुगेका थिए । राजदूत सुवेदीले नेपालको धम्पुस र ब्रेकनबीच मैत्री सम्बन्ध स्थापनाका लागि ठूलो योगदान दिएको भन्दै काउन्सिलले सम्मान गरेको थियो ।
काउन्सिलको सम्मान थापेपछि राजदूत डा सुवेदीको टोली ब्रेकनमै तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङ (एमभीओ) को निवासमा आयोजित रात्रिभोजमा सरिक भएका थिए |















