सेमन्त राई
“सिर्जनाको त्रिवेणीमा भयो हाम्रो भेटघाट
छेकेन है दुरीले नि गर्यौं मन साटासाट
भावनाको फूल टीपी रंगिन माला गाँसी
सिर्जनाकै फूल फुलाउने भयो सानो आँट”
तार जोडेको साउन्ड बक्सबाट क्याम्पभित्र मात्र सन्चालित हुने नब्बेको दशकको बिएफबिएस गोर्खा रडियो शोर्नक्लिफ स्टेसन प्रविधिको माध्यम र समयको गतिसँगै आज सन्सारका जुनसुकै कुनामा सुन्न सकिन्छ । यसै स्टेसनबाट सन्चालन हुने एउटा कार्यक्रमको नाम हो “सिर्जनाका फूलहरु”।
साप्ताहिक रुपमा नियमित सन्चालन हुने यस साहित्यिक कार्यक्रमको सन्चालन सोर्नक्लिफ रेडियो प्रिन्सीपल प्रोग्रामर योग राज राईले गर्नुहुन्छ । म यो कार्यक्रमलाई सर्जकहरुसँगको मिठामिठा सिर्जनाहरुसहितको एउटा साहित्यिक भलाकुसारी हो भन्न रुचाउँछु । गजलका शेरहरुबाट कार्यक्रमको उठान भए पनि सर्जकहरुले आफ्ना सिर्जना कविता, मुक्तक, गजल, गीतहरु सुनाएर श्रोताहरुको मन पगाल्न सक्नु हुन्छ त्यसैले यो कार्यक्रमको लोकप्रियता ज्यादै बढेको छ ।
बिगतका दिनहरुमा थुप्रै थुप्रै वरिष्ठ साहित्यकारहरुको साहित्यिक खुराक पस्किसकेको यस कार्यक्रमले भर्खरै आएर नयाँ मोड लिएको छ । समय र प्रविधिको विकासले मानव जीवनलाई धेरै कुरामा सहजता प्रदान गरेको छ । यो बेला कोरोनाको विषम परिस्थितिमा हामी बाहिर स्वतन्त्र भएर हिँड्डुल गर्न नमिले पनि भावना साटासाट गर्न प्रविधिले साथ दिएको छ । यसै क्रममा हामी तीनजना जानु काम्बाङ लिन्देन, हितैषी मित्र भरत लोहोरुङ्ग र मलाई दाइ योगराज राईले निम्तो दिनु भयो उही लोकप्रिय कार्यक्रम “सिर्जनाका फूलहरु”मा । यस पटक घरैमा बसेर आफ्ना सिर्जनाहरु साथ जूममार्फत फरक शैलीमा भेट हुन पाउँदा हामी हर्षित भएका थियौं ।
जस अनुरुप हामीलाई जूमको लिन्कसहित २५ अगष्ट सन् २०२० को साँझ १९३० बजेका लागि कार्यक्रममा निम्तो पठाइएको थियो । यस पटकको भेट सदाको भन्दा पृथक् शैलीमा हुने कुराको जानकारी सन्चालकज्युले गरी सक्नु भएको थियो । दुरीले जानु काम्बाङ अक्स्फोर्ड, भरतजी स्विन्डन, म मेड्स्टोन र सन्चालक शोर्नक्लिफबाट भए पनि एउटै स्क्रिनमा भेट भयौं । पालो पालो कार्यक्रममा स्वागत गर्दै सबैसँग अभिवादन आदान प्रदान भयो ।
जानु काम्बाङको मिठो कविता वाचनबाट कार्यक्रमको थालनी भएको थियो । पहिलो चरणमा जानु काम्बाङले मिठो कविता वाचन गर्नु भयो । त्यसैगरी मैले र भरतजीले एक/एक वटा गजल वाचन गर्यौं । भाइ खेमराज गुरुङको सम्झनामा लेखिएको पहिलो गजल मैले सुनाएँ ।
अर्को चरणमा भने कार्यक्रम रमाईलो सांगीतिक बसाईतर्फ मोडियो । जानु काम्बाङले मुर्चुङाको धुन सुनाउनु भयो । त्यसैगरी भरतजी र मैले भने एक/एक वटा बाँसुरीको धुन बजाएर त्यो चरणको अन्त्य भयो ।
अर्को चरणमा जानु काम्बाङले फेरि अर्को मिठो कविता सुनाउनु भयो भने मैले केही मुक्तकहरु वाचन गरें तर भरतजीले भने गजल नै सुनाउनु भयो । कार्यक्रमको अन्तमा जानु काम्बाङले अर्को मिठो कविता सुनाउनु भयो मैले पुनः एक गजल र मुक्तक अनि भरतजीले पनि केही मुक्तकहरु सुनाउनु भयो । यसरी झन्डै एक घन्टाको बसाई पत्तै नभई बितेको थियो ।
नयाँ कार्यक्रममा सहभागी हुन पाउँदा एउटा भिन्दै किसिमको साहित्यिक अनुभव भएको थियो । बिएफबिएस गोर्खा रेडियोका समस्त श्रोताहरुमाझ हाम्रा सिर्जनाहरु पस्कन पाउँदा ज्यादै खुशी लागेको थियो । सर्जकले गरेको सिर्जनालाई यसरी स्थान दिने सुन्दर कार्यक्रमका सन्चालक दाइ योग राजलाई हृदयबाटै हार्दिक धन्यवाद भन्नु पर्छ । त्यतिमात्र नभएर विगतका कार्यक्रमझैं दुई जनाको दोहोरो कुरामा मोनोटोनस हुन नपर्ने किसिमले गीत, गजल, कविता, मुक्तक र संगीत मिसिएको यस पटकको कार्यक्रममा सहभागी हुन ज्यादै मज्जा आयो ।
लकडाउनले सिर्जना गरेको दुरीलाई बिर्साएर साहित्यिक वातारणमा रमाउन पाउनुको मज्जा हामी सबैले अनुभूत गर्न पायौं । जानु काम्बाङको कविता र मुर्चुङ्गा, भरतजीको गजल र बाँसुरीको धुनमा मग्न बनेर म भावनामा चुर्लुम्मै डुबेको थिएँ ।
सर्जकको आफ्नै किसिमको लेखन क्षमता हुने हुनाले विभिन्न विधाहरु गीत, गजल, कथा, कविता, निबन्ध, नाटक, मुक्तक, उपन्यास, नियात्रा आदिमा उत्तिकै कलम नचल्न पनि सक्छ । हामी तीनजना पनि आ-आफ्नै किसिमको विधामा कलम चल्ने भएकाले एकले अर्काको सिर्जनाको भरपुर आनन्द लिन सक्यौं। जानु काम्बाङ्गको कलम प्राय गीत, आख्यान, कविता विधामा ससक्त रुपले चलेको छ भने भरतजी र म मुक्तक र गजल लेख्न रुचाउँछौं । हुन त भरतजी र मेरो साहित्यिक यात्रा जीवनको उत्तरार्द्धमा धेरै लामो नभए पनि अघिल्लो समयमा भने थोर बहुत अध्ययन भएको झिनो सम्झना भने अझै छ ।
कोरोनाले घरभित्र बन्द भएर बसेको समयमा कार्यक्रमको नयाँ शृङ्खलामा सहभागी हुने मौका नै हाम्रो लागि काफी छ । यो कार्यक्रम सबै श्रोताहरुबीच लोकप्रिय हुँदै जाओस् । हामीले अन्य धेरै वरिष्ठ अग्रज साहित्यकारहरुसँगको भलाकुसारी सुन्न पाईयोस् । मिठा मिठा सिर्जनाहरु पस्कदै रहोस् हार्दिक शुभकामना । जय बिएफबिएस ।






