- सोमनाथ सापकोटा
प्रवक्ता, एनआरएनए
नेपाल यतिबेला गम्भीर प्राकृतिक विपद्को सामना गरिरहेको छ। केही जिल्लाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति अत्यन्त पीडादायी छ। आफन्त गुमाएका परिवारको पीडा, विस्थापित नागरिकको अवस्था र प्रभावित क्षेत्रमा देखिएको संकटप्रति हामी सबै संवेदनशील र चिन्तित हुनु स्वाभाविक हो। यस्तो संवेदनशील परिस्थितिमा हाम्रो अभिव्यक्ति, व्यवहार र भूमिकाले पीडित नागरिकलाई थप हौसला र सहयोग पुर्याउने कि भ्रम, निराशा र अन्योल सिर्जना गर्ने भन्ने विषयमा हामी सबैले गम्भीर भएर सोच्न आवश्यक छ।
सरकारले आफ्नो स्थापित संयन्त्र, सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायमार्फत उद्धार, राहत, खोज तथा व्यवस्थापनका कार्यहरू अघि बढाइरहेको छ। केही क्षेत्रले अत्यन्त ठूलो क्षति व्यहोरेका छन्, तर सम्पूर्ण नेपाल नै ध्वस्त भएको अवस्था होइन। त्यसैले संकटको वास्तविक अवस्थालाई बुझेर, तथ्यमा आधारित भएर र जिम्मेवारीपूर्वक प्रस्तुत हुनु आवश्यक छ। यस्तो ठूलो प्राकृतिक विपद्को समयमा सबै कुरा तत्काल र पूर्ण रूपमा व्यवस्थापन गर्न कुनै पनि देशका लागि सहज हुँदैन। चुनौतीहरू आउँछन्, कमजोरीहरू पनि हुन सक्छन्। हामी सहमत छौँ कि यो विपद्लाई अझ राम्रो र प्रभावकारी ढंगले व्यवस्थापन गर्न सकिन्थ्यो होला। तर अहिले त्यसको समीक्षा गर्ने समय होइन; समीक्षा र मूल्याङ्कन पछि गरौँला। अहिलेको प्राथमिकता दोष खोज्ने वा आरोप–प्रत्यारोप गर्नेभन्दा प्रभावित नागरिकसम्म राहत पुर्याउने, उद्धारलाई प्रभावकारी बनाउने र आवश्यक सहयोग उपलब्ध गराउने हुनुपर्छ।
यतिबेला केही सांसद, राजनीतिक नेता, राजनीतिक दलका प्रतिनिधि तथा नागरिकहरूबाट आएका केही अभिव्यक्ति र गतिविधि अत्यन्तै असान्दर्भिक, गैरजिम्मेवार र स्वीकार्य नभएका देखिन्छन्। देश र नागरिक विपद्मा परेका बेला राजनीतिक स्वार्थ, व्यक्तिगत प्रचार, आरोप–प्रत्यारोप वा विवाद सिर्जना गर्ने अभिव्यक्ति दिनु उचित होइन। यो प्रतिबद्धता, भाषण वा दोषारोपण गर्ने समय होइन; समाधान खोज्ने, समन्वय गर्ने र प्रभावित नागरिकको जीवन बचाउने समय हो। जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वले आफ्ना शब्द र व्यवहारबाट नागरिकलाई आश्वस्त पार्नुपर्छ, निराश वा विभाजित बनाउनु हुँदैन। आलोचना गर्नैपर्ने अवस्था भए पनि त्यसलाई तथ्य, प्रमाण र समाधानका स्पष्ट सुझावसहित जिम्मेवार ढंगले पछि प्रस्तुत गर्न सकिन्छ। अहिलेको परिस्थितिमा अस्वीकार्य आवाज र गतिविधिले उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउँदैनन्, बरु भ्रम, अविश्वास र अन्योल बढाउन सक्छन्।
यतिबेला विभिन्न एनजीओ, आईएनजीओका प्रतिनिधि, राजनीतिक नेतृत्व, सामाजिक संस्था तथा केही व्यक्तिहरूबाट सार्वजनिक अभिव्यक्तिहरू आइरहेका छन्। तीमध्ये केही अभिव्यक्ति मेरो व्यक्तिगत विचारमा अहिलेको संवेदनशील परिस्थितिका लागि उचित वा सहयोगी देखिँदैनन्। देश संकटमा रहेको बेला अनावश्यक आलोचना, आरोप–प्रत्यारोप वा राजनीतिक विवादले समस्या समाधान गर्दैन। सरकारका काममा कुनै कमी–कमजोरी देखिएमा रचनात्मक सुझाव र आलोचना गर्न सकिन्छ, तर त्यस्ता विषय उचित माध्यमबाट, तथ्य र प्रमाणका आधारमा तथा समाधान खोज्ने उद्देश्यले पछि उठाइनुपर्छ।
मृतकहरूको खोजी, पहिचान, व्यवस्थापन तथा परिवारलाई बुझाउने विषय अत्यन्तै संवेदनशील र मानवीय विषय हो। ठूलो प्राकृतिक विपद्का समयमा यस्ता कार्यका लागि निश्चित प्रक्रिया र अन्तर्राष्ट्रिय अभ्यासहरू हुन्छन्। यति ठूलो विपद्को अवस्थामा कुनै पनि देशले सबै कुरा तत्काल र पूर्ण रूपमा व्यवस्थापन गर्न सक्दैन। त्यसैले यस विषयमा अनावश्यक सार्वजनिक टिप्पणी, अनुमान वा आलोचना गर्नुभन्दा सम्बन्धित निकायलाई आवश्यक काम गर्न सहज वातावरण सिर्जना गर्नु उचित हुन्छ। यस सन्दर्भमा मृतकहरूको व्यवस्थापन तथा सम्बन्धित प्रक्रिया चितवनमा उपलब्ध उपयुक्त स्वास्थ्य तथा सरकारी संयन्त्रमार्फत अघि बढाउने निर्णयलाई व्यावहारिक र जिम्मेवार निर्णयका रूपमा लिन सकिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा मृतकको उचित पहिचान, सम्मानजनक व्यवस्थापन र शोकाकुल परिवारलाई आवश्यक सूचना तथा सहजीकरण उपलब्ध गराउनु हो।
यस विपद्को समयमा सञ्चारमाध्यमको भूमिका पनि अत्यन्त महत्वपूर्ण हुन्छ। नागरिकलाई सही, विश्वसनीय र समयमै सूचना उपलब्ध गराउनु सञ्चारमाध्यमको महत्वपूर्ण जिम्मेवारी हो। तर विपद्को संवेदनशील अवस्थामा अपुष्ट समाचार, अनावश्यक भिडियो, पुराना दृश्य, अनुमानमा आधारित सूचना वा सनसनीपूर्ण सामग्री सार्वजनिक गर्दा त्यसले पीडित परिवार र आम नागरिकमा थप त्रास, भ्रम र मानसिक पीडा सिर्जना गर्न सक्छ। त्यसैले पत्रकार, सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ता सबैले थप जिम्मेवार हुन आवश्यक छ। कुनै समाचार वा भिडियो सार्वजनिक गर्नुअघि त्यसको स्रोत, समय, स्थान र सत्यता पुष्टि गरौँ। विशेषगरी मृतक, घाइते, शोकाकुल परिवार तथा विपद्मा परेका व्यक्तिसँग सम्बन्धित सामग्री सार्वजनिक गर्दा मानवीय संवेदनशीलता, गोपनीयता र परिवारको सम्मानलाई प्राथमिकता दिऔँ।
विपद्को समयमा सरकार तथा सम्बन्धित निकायबाट जारी भएका आधिकारिक सूचना, निर्देशन तथा मार्गदर्शनलाई पनि प्राथमिकता दिनुपर्छ। उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वास्थ्य संस्था र सम्बन्धित निकायको समन्वयलाई सम्मान गर्नुपर्छ। अपुष्ट सूचना सामाजिक सञ्जालमा फैलाउने, अनावश्यक भीड सिर्जना गर्ने वा उद्धार तथा राहत कार्यमा अवरोध पुग्ने गतिविधि गर्नु हुँदैन। हामीसँग उपयोगी सूचना छ भने सम्बन्धित निकायसम्म पुर्याऔँ र सहयोग गर्न सक्ने क्षमता छ भने समन्वय गरेर सहयोग गरौँ।
देश विपद्मा छ। यस्तो अवस्थामा हामी सबैले आफ्नो भूमिका र जिम्मेवारी बुझ्नुपर्छ। अहिले धेरै बोल्नेभन्दा हामीले जे सकिन्छ, त्यो गर्ने समय हो। सरकार र प्रभावित दिदीबहिनी तथा दाजुभाइहरूलाई सहयोग गर्न हामीसँग भएका स्रोत, साधन, ज्ञान, सीप, सम्पर्क र क्षमताहरू एकताबद्ध भएर प्रयोग गरौँ। आर्थिक सहयोग गर्न सक्नेले आर्थिक सहयोग गरौँ, राहत सामग्री जुटाउन सक्नेले जुटाऔँ, स्वयंसेवा गर्न सक्नेले स्वयंसेवा गरौँ। आफ्नो ज्ञान, सीप, सम्पर्क र स्रोत प्रयोग गर्न सक्नेले त्यसलाई सदुपयोग गरौँ। हामी सबै समस्या समाधान गर्न सक्दैनौँ, तर आफ्नो क्षमता र हैसियतअनुसार केही न केही योगदान अवश्य गर्न सक्छौँ।
अरूले के गरेनन् भनेर प्रश्न गर्नुभन्दा पहिले हामी आफैँलाई सोधौँ—“मैले के गर्न सक्छु?” र “हामीले के गर्न सक्छौँ?” यो हाम्रो देश हो। देशप्रति सरकारको मात्र होइन, हामी प्रत्येक नागरिकको पनि जिम्मेवारी छ। विदेशमा रहेका नेपालीको पनि आफ्नो मातृभूमिप्रतिको जिम्मेवारी छ। हामी जहाँ छौँ, त्यहीँबाट आफ्नो क्षमता अनुसार नेपाल, नेपाली नागरिक र हाम्रो मातृभूमिका लागि योगदान गर्न सक्छौँ।
राष्ट्रिय विपद्को यो घडीमा प्रभावित परिवारसँग उभिनु, उद्धार तथा राहतमा खटिएकाहरूलाई सहयोग गर्नु, सरकारका प्रयासलाई आवश्यक स्रोत र सहकार्य उपलब्ध गराउनु, स्थापित संयन्त्रलाई सम्मान गर्नु, सही सूचना प्रवाह गर्नु र आफ्नो तर्फबाट सक्दो योगदान गर्नु नै हाम्रो साझा जिम्मेवारी हो। अहिलेको आवश्यकता अनावश्यक आलोचना होइन, सहयोग र सहकार्य हो। आरोपभन्दा समाधान खोजौँ, भ्रमभन्दा सत्य सूचना फैलाऔँ र विभाजनभन्दा एकता रोजौँ। समीक्षा र मूल्याङ्कन गर्ने समय पछि अवश्य आउनेछ, तर अहिले हामी एकजुट भएर आफ्ना स्रोत र क्षमताहरू प्रभावित दिदीबहिनी तथा दाजुभाइहरू, सरकार र हाम्रो मातृभूमिको सहयोगमा प्रयोग गरौँ।
कम बोलौँ, बढी गरौँ। आलोचनाभन्दा सहयोग गरौँ। आफ्नो देशका लागि आफ्नो ठाउँबाट जे सकिन्छ, त्यो गरौँ।यो हाम्रो देश हो, र देशप्रतिको जिम्मेवारी हाम्रो पनि हो।






