लल्डन ६ असोज । क्षेत्री समाज यूकेको नयाँ कार्यसमिति निर्विरोध भएको छ । यज्ञ क्षेत्रीको अध्यक्षतामा सिंगो कार्यसमिति नै निर्विरोध बनेको हो । उनी यसअघि कार्यसमितिका उपाध्यक्ष थिए । उम्मेद्वारी दर्ताका लागि तोकिएको शनिबार दिउँसोसम्मको समयमा अध्यक्षसहितका सबै पदमा एकल उम्मेद्ववारी परेको प्रमुख निर्वाचन आयुक्त रामशरण सिम्खडाले जनाएका छन् ।
आउँदो आइतबार २७ सेप्टेम्बर २०२० का दिन भर्चुअल माध्यमबाट हुने सातौं अधिवेशनले संस्थाको नयाँ कार्यसमिति निर्वाचित गरेको औपचारिक घोषणा गर्नेछ । यो कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।
समाजको नयाँ कार्यसमितिका लागि २ उपाध्यक्षमा प्रकाश राउत र महेन्द्र केसी, महिला उपाध्यक्षमा श्रद्धा थापा र महासचिवमा क्याप्टेन दीर्घ केसी निर्विरोध भएका छन् । त्यसैगरी, सचिवमा टोप बहादुर (रुपेश) राउत, कोषाध्यक्षमा मनिष खड्का र सहकोषाध्यक्षमा अन्जना थापाको एकल उम्मेद्वारी परेको छ । संस्थाको मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, सामाजिक सेक्रेटरीमा दिल जिसी र महिला संयोजकमा माया केसी निर्विरोध भएका छन् ।
कार्यसमिति सदस्यहरुमा डा. मिन रानाभाट, बन्दना केसी, गंगा बहादुर केसी, मिलन केसी, राजु बोहोरा र यम भण्डारीको उम्मेद्वारी पनि निर्विरोध बनेको छ । नेपालको पश्चितम पर्वतमा जन्मिएका नवनिर्वाचित अध्यक्ष यज्ञ क्षेत्री नेपालमै समेत समाजिक कार्यमा क्रियाशील थिए । स्नाकोत्तर सम्मको अध्ययन गरेका, लामो समय एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यक्रम अधिकृतको रुपमा काम गरेका अनुभव बटुलेका उनी शालिन र बौद्धिक ब्यक्तत्व मानिन्छन् । समाजलाई थप उचाईमा पुर्याउन सबैलाई समेट्दै ठोस योजनाको साथ मातृभूमि प्रतिको कर्तब्यमा खरो उत्रने उनले बताए ।
सन् २००७ मा स्थापित क्षेत्री समाज यूके बेलायतस्थित नेपाली समुदायमा ठूलो र सक्रिय संस्था मानिन्छ । समाजले विभिन्न समयमा च्यारिटीमूलक कार्य समेत गर्दै आएको छ । संस्थाले दोस्रो कविता कन्सर्टमार्फत सिन्धुपाल्चोकको टेकानपुरस्थित कालिका माविमा २ कोठासहितको १७ लाख रकमको ई-लाईब्रेरी परियोजना हाल निर्माण कार्य अन्तिम चरणमा छ । संस्थामा हाल राजन क्षेत्री अध्यक्षमा कृयाशील छन् ।






