
लन्डन १२ असोज । बेलायतको लन्डनस्थित नेपाली युथ एशोसिएसन यूकेको आयोजना र नेपाली वेलफेयर सोसाईटी यूकेको संयोजन तथा समन्वयमा कोरोना महामारीबाट ‘बाँचौ र बचाऊ अभियान’ अन्तर्गत नेपालको धादिङमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वाग्मती प्रदेशअन्तर्गतको धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका-७ मा शनिबार आयोजित एक कार्यक्रमबीच ५२ घरघुरी विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरिएको हो । कार्यक्रममा प्रदेश नम्बर-३, वाग्मतीका संघीय प्रतिनिधि सभाका सांसद डा. राजाराम कार्की प्रमुख अतिथि थिए । नेपाली युथ एशोसिएशन यूकेका उपाध्यक्ष तथा एनआरएनए यूकेका सल्लाहकार राजन खकुरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘बाचौं र बचाऊ अभियान’ का संयोजक एबम नेपाली वेलफेयर सोसाईटी यूकेका अध्यक्ष तथा एनआरएनए यूकेका कार्यसमितिका सदस्य समेत रहेका धनबहादुर सार्कीले कोरोना महामारी सुरु भएयता बेलायतस्थित विभिन्न संघ , संस्था र मनकारी व्यक्तिहरुको प्रयोजनमा नेपालमा पाँच महिनाको अवधिमा महामारीको चपेटामा तथा बाढीपहिरो पीडितहरु समेत गरी नेपालका ७ प्रदेश अन्तर्गतका ७ सय ८९ परिवारलाई खाद्यान्न लगायतका सामाग्रीहरु वितरण गरिएको र यो १८ औ कार्यक्रम सम्पन्न भएको बताए ।
भर्चुअल जुममार्फत संचालित कार्यक्रममा एनआरएनए यूकेका सचिब एवम् रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी यूकेका उपाध्यक्ष जित रानाभाटले आफूले कोरोना संकट यता विगत केही महिनादेखि निरन्तर यस्ता भर्चुअल कार्यक्रमहरुको संचालन र आर्थिक सहयोग समेत गरेको बताउँदै आगामी दिनमा समेत हरेक सामाजिक कार्यमा आफ्नो सक्दो सहयोग हुने बताए ।
कार्यक्रमका विशेष अतिथि नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले कोरोनाको कहरकाबीच बेलायतका नेपाली र नेपाली संघ संस्थाहरुले ठूलो सहयोग गरिरहेकोमा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने आशा एबम बिश्वास ब्यक्त गरे ।
भर्चुअल कार्यक्रममा रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाईटी यूके अध्यक्ष शर्मिला हिराचन थकाली, नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला, एनआरएनए यूकेका निवर्तमान उपमहासचिव विनय अधिकारी लगायतले कार्यक्रमका सभापति खकुरालले आफू जन्मेको जिल्ला र गाउँका समस्यामा परेका व्यक्तिहरुलाई यो कठिन घडीमा पुर्याएको सहयोगको लागि मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेपाली युथ एशोसिएशन यूकेका अध्यक्ष लछुमान गुरुङ, एशोसिएसनकै संस्थापक अध्यक्ष ह्यारी गुरुङ, चितवन एड ट्रस्ट यूकेका अध्यक्ष जिबन सेन, युवा समाजसेवी विष्णु खरेल र बलराम धरेलले समेत उपस्थिति तथा सहयोग गरेका थिए ।
राहत वितरणस्थलबाट स्थानीय सामाजिक अभियन्ता प्रताप कँडेलले कार्यक्रमको प्रत्यक्ष प्रसारण लगायतका अन्य ब्यबस्थापन सहयोग गरेका थिए भने समाजसेवी रुद्रप्रसाद खकुराल, ब्यबस्थापन समितिका अध्यक्ष अरुणप्रसाद लोहनी, समाजसेवीहरु होमप्रसाद खकुराल, भोजराज खकुराल, शम्भु नेपाली, बुद्धि नेपाली, शंकर नेपाली, प्रकाश खकुराल, केशव खकुराल, बबी खकुराल, रोजन कँडेल लगायतको उपस्थितमा राहत सहयोग हस्तान्तरण गरिएको थियो ।
राहत वितरण कार्यक्रममा भूतपूर्ब विद्यालय स्रोत व्यक्तिहरु ज्ञानेन्द्र खकुराल तथा ओमप्रसाद पाठक र स्थानीय विद्यालयका प्रधानाध्यापक भद्रलाल खकुरालले समस्यामा परेका व्यक्तिहरुलाई यो कठिन घडीमा पुर्याएको सहयोगका लागि मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
कार्यक्रममा राहत ग्रहण गर्दै स्थानीय व्यक्तिहरुले ‘सेवा नै धर्म हो’ भन्दै आयोजक, प्रायोजक र चन्दादाताहरु सबैलाई धन्यवाद तथा आभार ब्यक्त गरेका थिए ।






