लन्डन असोज १८ । बेलायतसहित विश्वभरका इन्जिनियरहरु आबद्ध प्रोफेसनल संस्था इन्स्टिच्युट अफ सिभिल इन्जिनियर (आइसीइ) ले सेलिना राईलाई ‘इन्टरनेसनल इमर्जिङ इन्जिनियर अवार्ड’अवार्ड प्रदान गरेको छ ।
बेलायतको लिड्स शहरमा एक ‘स्ट्रक्चरल इन्जिनियर’ का रुपमा कार्यरत सेलिनालाई विभिन्न समूहबाट फाइनलमा छनोट भएका प्रतिस्पर्धी इन्जिनियरहरुमध्ये उत्कृष्ट ठहर गर्दै अवार्ड दिइएको हो । प्रतिस्पर्धाको प्रारम्भिक चरणमा विश्वभरबाट सयौं इन्जिनियरहरुले आफ्नो ‘सिनोप्सिस’ पठाएका थिए । जसमध्ये उत्कृष्ट ४ फाइनालिस्टहरुले प्रस्तुत गरेको ‘फुल पेपर’ को मुल्यांकनपछि सेलिना विजेता बनेकी हुन् ।
प्रतिष्ठित प्रोफेसनल अवार्डसँगै सेलिनाले नगद १५ सय पाउन्ड पुरस्कार समेत पाएकी छन् । कोभिड महामारीका कारण यसपटक फाइनल राउन्डसम्मको पूरै प्रतिस्पर्धा ‘भर्चुअल’ माध्यमबाटै गराइएको थियो ।






