
लन्डन असोज १८ । बेलायतका गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाज यूकेले प्रथम भीसी कुलवीर थापाको सालिक निर्माणका लागि ११ सय ११ पाउन्ड ११ पेन्स सहयोग गरेको छ ।
भीसी थापाको सालिक निर्माणका लागि प्रतिबद्धता गरिएको उक्त रकम शनिबार हस्तान्तरण गरिएको गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष एवम् गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाले जानकारी दिए । उनका अनुसार गोर्खा मेमोरियल प्रोजेक्टका कोषाध्यक्षसमेत रहेका समाजका अध्यक्ष टोप पल्ली नेतृत्वको टीमले प्रोजेक्टलाई सहयोग हस्तान्तरण गरेको हो । त्यसअवसरमा समाजका महासचिव बीर बलाल, संस्थापक अध्यक्ष एवम् प्रोजेक्ट प्रवक्ता ओमप्रसाद थापा, सल्लाहकार क्या ताम ढेगालगायतको सहभागिता थियो ।
प्रोजेक्टका तर्फबाट प्रमुख संयोजक मेजर खिम गौचन, ग्रेटर रश्मोर नेपाली कम्युनिटी अध्यक्ष रामधन राई लगायतले सहयोग चेक बुझेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा भीसी सालिक निर्माण अभियानमा बेलायतस्थित गुल्मेली समुदायको महत्वपूर्ण सहयोग मिलेको भन्दै गोर्खा मेमोरियल प्रोजेक्टका प्रमुख संयोजक मेजर खिम गौचन र ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईले प्रशंसा गरेका थिए ।
प्रोजेक्टमा समेत महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका गुल्मी जिल्ला समाज यूकेका संस्थापक अध्यक्ष ओमप्रसाद थापा र अध्यक्ष टोप पल्लीले भीसी शालिकजस्तो ऐतिहासिक प्रोजेक्टमा सहयोग गर्न पाउंदा गौरव लागेको भन्दै प्रोजेक्टको सफलताको कामना गरेका थिए ।
गोर्खा मेमोरियल प्रोजेक्टका प्रवक्ता थापाले बेलायतस्थित गुल्मेलीहरुका विभिन्न संघसंस्था, समुदाय र व्यक्तिगत तवरबाट समेत गरी शालिक निर्माणका लागि करिब साढे १३ हजार पाउन्ड सहयोग गरिएको बताए ।






