लन्डन असोज २० । नेपालको राजधानी काठमाडौंमा ५० अनाथ बालबालिकालाई संरक्षण प्रदान गरिरहेको ‘माया घर’ अनाथ आश्रमलाई बेलायतमा करिब ३ लाख सहयोग संकलन गरिएको छ ।
नेपाली समाजसेवी एवम् युवा व्यवसायी विष्णु खरेलले एक च्यारिटी कार्यक्रम गरी उक्त रकम संकलन गरेका हुन् । कार्यक्रम खरेल संचालक रहेको ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टमा आइतबार साँझ भएको थियो । च्यारिटी डिनरका सहभागीबाट १८ सय ८० पाउन्ड ८० पेन्स संकलन भएकोमा कार्यक्रममा सहभागी नेपाली कम्युनिटीका अगुवाहरुले केही रकम थप गरी २ हजार पाउन्ड पुर्याएका आयोजकले जनाएको छ ।
च्यारिटी डिनरमा बेलिफ रेष्टुरेन्टका नियमित ग्राहकहरुको साथै बेलायतको नेपाली समुदायका अगुवाहरु पनि सहभागिता थियो ।
एनआरएनए यूकेका उपाध्यक्ष सुनिलबाबु खड्का, महासचिव फडिन्द्र भट्टराई, इङ्ल्यान्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठ, एनआरएनए यूके सहकोषाध्यक्ष सकुन्तला गुरुङ र सदस्य हेम गुरुङ सहभागी थिए ।
त्यस्तै एनआरएनए अभियन्ताहरु शेर सुनार, थर्क सेन, सहारा यूके संस्थापक अध्यक्ष नवीन गुरुङ, सन्चारकर्मी एवम् निर्देशक कुशल श्रेष्ठ, पत्रकार बाचस्पति रेग्मी, युवा अभियन्ताहरु राजन खकुराल, सुरेन रुपाखेती, सेफ विनोद बराल लगायतको पनि सहभागिता रहेको थियो ।






