
लन्डन कात्तिक १० । नेपालको संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिए अनुकूल गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने विषयको ऐन छिट्टै पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघ यूकेद्वारा “नागरिकताको निरन्तरता, सम्पत्तिको सुरक्षा र समानताका लागि गरिएको गोर्खाज आन्दोलन” विषयमा शनिबार आयोजित एक जुम वेबिनार कार्यक्रममा सम्बोधन गर्दै सभापति पोखरेलले गैरआवासीय नेपालीहरुले नेपाली नागरिकसरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने कुरा संविधानले नै सुनिश्चित गरेको र त्यसमा कुनै भेदभाव नहुने कुरामा जोड दिएका थिए ।
दस वर्ष पहिलेदेखि नेपालका प्रमुख राजनीतिक दलका नेताहरुले एनआरएनलाई नागरिकता दिनेबारे सकारात्मक रहेर अहिले संविधानमै त्यसको व्यवस्था भएको उनले स्पष्ट पारे । “त्यसयता धेरै छलफल, धेरै निष्कर्ष र सकारात्मक को बिकास भएको पनि छ । त्यसैले आउँदा दस वर्षमा तपाईंहरुका अरु कैयौं मागहरु पनि अवश्य सम्बोधन हुनेछन्,” पोखरेलले भने ।
ब्रिटिस सेनाबाट सेवा निवृत्त भएपछि हाल बेलायतमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिकहरुको नेपाली नगरिकताको निरन्तरताको विषयमा उठेका प्रश्नहरुको जवाफ दिंदै सभापति पोखरेलले गोर्खा सैनिकहरुले गर्दा नेपालको शिर ठाडो भएको बताए । “गोर्खा भूपू गोर्खा सैनिकहरुको नेपाली नागरिकतालाई निरन्तरता दिंदा नेपाललाई कुनै नोक्सान हुँदैन । संविधान संशोधनको क्रममा भूपू गोर्खा सैनिकहरुका लागि छुट्टै व्यवस्था गर्न पर्ने अवस्था छ, यो छलफल र समस्या का लागी हामी लाग्नै पर्दछ ” पोखरेलले भने । बेलायती सेनामा भर्ना भई जाने नेपाली दाजुभाइ आफ्नो निर्णयले गएका होइनन, सरकारकै निर्णयले गएका हुनाले ब्रिटिस गोर्खाहरुलाई अन्तराल भएको छ’, उनले थपेका छन्।
एनआरएनएको नागरिकता निरन्तरता समितिका केन्द्रीय संयोजक तथा उपाध्यक्ष सोनाम लामाले एनआरएनहरुको गैरआवासीय नेपाली नागरिकता सुरक्षित रहेको भन्दै त्यसबारे आशंका नगर्न आग्रह गरे । नेपालको संविधान संशोधन गरेर भए पनि गोर्खा सैनिकहरुको नेपाली नागरिकतालाई निरन्तरता दिन उनले आग्रह गरे ।
एनआरएनएका केन्द्रीय महासचिव डा हेमराज शर्माले एनआरएनएको स्थापना यता एनआरएन नेतृत्वले गरेको लगातार प्रयासका कारण मात्रै अहिलेको संविधानमा गैर आवासीय नेपाली नागरिकताको प्रावधान राख्न सम्भव भएको बताए । उनले नयाँ ऐनमा एनआरएनहरुले नेपालमा गएर काम गर्न पाउने कि नपाउने भन्ने स्पष्ट नभएको बताउँदै यसबारे छलफल जारी रहेको बताए । “गैरआवासीय नेपाली नागरिकता तीनपुस्ता पछि के हुने भन्ने स्पष्ट छैन, त्यो कुरा कानूनमै स्पष्ट होस् भन्ने हाम्रो भनाइ छ,” शर्माले भनेका छन् । लोकप्रियताभन्दा पनि पाएको अधिकारलाई सुरक्षित गर्न जरुरी छ भन्दै महासचिव शर्माले गोर्खा र गैरगोर्खा नभनेर संयुक्त रुपमा नागरिकता अभियानमा जुट्न आग्रह गरे ।
गोर्खाज सरोकार समितिका संयोजक अनररी लेफ्टिनेन्ट (री) चन्द्रबहादुर गुरुङले नेपाललाई संसारभरि चिनाउने प्रतिकको रुपमा रहेका गोर्खा सैनिकहरुलाई नेपाल सरकार र नेताहरुले बेवास्ता गरेको आरोप लगाए । सुगौली सन्धिको आधारमा नै गोर्खा सैनिकहरु बेलायत आएकाले उनीहरुको नेपाली नागरिकतालाई निरन्तरता दिनु पर्ने उनले माग गरे । बेलायतले दिएको रातो पासपोर्ट र नागरिकता त नेपालीहरुले युद्धमा देखाएको बहादुरीको प्रशंसा पत्र हो । बेलायतमा बस्न चाहनेले बेलायतको कानुन बमोजिम चलेर काम गर्नु खानु भनेको हो, चन्द्रले उल्लेख गरेका छन् ।
एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले एनआरएन नागरिकताको विषय ५०/६० लाख गैरआवासीय नेपालीहरुको सरोकारको विषय भएको बताउँदै भूपू गोर्खाहरुको नागरिकताको निरन्तरता गर्ने अहिले समय आएको बताइन् । उनले नेपालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि बनेका सरकारहरु अनुदार रहेको भन्दै गैरआवासीय नेपालीहरुको नागरिकताको निरन्तरताका लागि एनआरएन यूकेले सरोकारवालाहरुसँग छलफलमा लागि रहेको बताइन् । भब्य छलफल र उत्कृष्ट विचार प्रस्तुत भएको वेविनारले तत्कालको प्रश्नहरूको उचित जबाफ दिएको थियो ।
एनआरएनए यूकेका महासचिव फडिन्द्र भट्टराईले संचालन गरेको कार्यक्रममा विश्वभरका सल्लाहाकार सहभागीहरु, पत्रकारहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको सभापति पोखरेलले जवाफ दिएका थिए। बरिष्ठ पत्रकार भगीरथ योगीले कार्यक्रममा भएको छलफलको टिपोट प्रस्तुत गरेका थिए ।






