लन्डन कात्तिक १४ । सोंपाल समाज यूकेका महासचिव भरत गुरुङलाई पितृशोक परेको छ । उनका पिता ९० वर्षीय चन्द्रबहादुर गुरुङको उपचारका क्रममा ३० अक्टोबर शुक्रबार बिहान निधन भएको हो । भरत गुरुङ तमु धिं लन्डन ब्रान्च यूकेका महासचिव समेत हुन् ।
पुर्ख्यौली घर आँधीखोला गाउँपालिका १ बेझाङ र दोस्रो घर कास्की पोखरा सिमल चउर भइ हाल सडबरी, वेम्ब्लीमा बस्दै आएका स्व चन्द्रबहादुर गुरुङ सोंपाल समाजका जेष्ठ सदस्य, सोंपाल पोखराका संस्थापक सचिव/पूर्व उपाध्यक्ष थिए ।
स्वास्थ्य समस्यापछि उनलाई नोर्थविक पार्क हस्पिटलमा उपचारका लागि राखिएको थियो ।
महासचिव गुरुङले आफ्नो पिताको निधनबारे सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘मलाई माफ गर्नु बाबा हजुरलाई बचाउने प्रयास असफल रह्यो…
हजुरको आशीर्वाद सधैं यो शिरमा रहनेछ ।
तपाईंले देखाउनु भएको मार्गनिर्देश कहिल्यै भुल्ने छैन…’
यसैबीच चन्द्रबहादुरको निधनप्रति सोंपाल समाज यूकेले हार्दिक समवेदना प्रकट गरेको छ ।
अध्यक्ष युक्त गुरुङले एक सन्देश जारी गर्दै यस दुखद् घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘सोंपाल समाज यूकेका जेष्ठ सदस्य, सोंपाल पोखराका संस्थापक सचिव/पूर्वउपाध्यक्ष श्री चन्द्रबहादुर गुरुङको नर्थविक पार्क हस्पटलमा उपचारको क्रममा ३० अक्टोबर २०२० को बिहान ९० वर्षको उमेरमा असामयिक निधन भएको खबरले सोंपाल समाज यूके परिवार स्तब्ध र दुखी भएको छ,’ समवेदना सन्देशमा लेखिएको छ, ‘यस दुखद् घडीमा उहाँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र उहाँको धर्मपत्नी नन्दकुमारी गुरुङ साथै सम्पूर्ण शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दै हार्दिक समवेदना प्रकट गर्दछौं ।’






