लन्डन कात्तिक २० । क्षेत्री समाज यूकेका निवर्तमान अध्यक्ष तथा इन्टेक १९८५ पूर्वअध्यक्ष राजनकुमार क्षेत्री स्वीन्डनमा सामाजिक क्षेत्रमा उत्कृष्ठ काम गरेबापत प्राप्त हुने ‘पोल स्टेपेनसन अनसङ हिरो अवार्ड २०२०’ को लागि मनोनयनमा परेका छन् । सो अवार्डको लागि नाम मनोनयनमा पर्ने उनी पहिलो नेपाली हुन् ।
क्षेत्री नेपाली समाज विल्सायर पूर्वअध्यक्ष, गैरआवासीय नेपाली संघ यूकेको सल्लाहकार, पोखरेली मञ्च यूकेको सल्लाहकार र स्याङ्जा समाज यूकेको संरक्षक हुन् । सन् १९८५ मा ब्रिटिस सेनामा भर्ती भएर सन् २००१ मा अवकाश पाएका क्षेत्री सन् २००५ देखि बेलायतको स्वीन्डनमा स्थायी बसोबास गर्छन् । उनले सन् २००६ मा नेपाली समाज विल्सायर (एनएडब्लु) स्थापना गरे ।
सन् २००८ देखि संस्थाको जनसम्पर्क संयोजक हुँदै स्वीन्डन बरो काउन्सिलसँग राम्रो सम्बन्ध बनाएका क्षेत्री सन् २०१२ मा संस्थाको अध्यक्ष भए । उनी अध्यक्ष भएपछि नेपाली दूतावास लन्डनमा गइ एमआरपी पासपोर्टका लागि स्वीन्डनबाटै फर्म भर्न पर्छ भनेर कर्मचारी ल्याएर ५ सय जनाले त्यहीबाट पासपोर्ट लिएका थिए ।

नेपालमा ठूलो भुइँचालो जाँदा २२ हजार पाउण्ड उठाएर नेपाल पठाएका थिए भने कलेज पढ्ने विद्यार्थीलाई आईसीटी कार्ष एक वर्षको समुदायमा गराएका थिए । एसआईए कोर्ष पनि त्यहीबाट गराउने व्यवस्था मिलाएका क्षेत्रीले नेपाली भाषा कक्षा सञ्चालन गरेका थिए ।
अंग्रेजी भाषाको समस्या हुनेलाई कक्षा सञ्चालन गरिएको थियो भने निःशुल्क दोभाषेको काम अस्पतालमा गरेका थिए । समुदायभित्र विभिन्न सिप र ज्ञानमुलक कोष गराएका थिए । यस्तै ब्राइट फ्युचर संस्थालाई ८ हजार पाउण्ड उठाएर दिएका थिए भने कोभिड–१९ को सहयोगका लागि १० हजार पाउण्ड उठाएर नेशनल हेल्थ सेन्टरलाई उपलब्ध गराएका थिए ।
उनले नेपालमा आफू जन्मेको ठाउँ स्याङ्जालाई एउटा एम्बुलेन्स उपलब्ध गराएका थिए भने भुइँचालोबाट क्षतिग्रस्त स्कुलमा २ कोठाको विद्युतीय पुस्तकालय बनाएका थिए । स्वीन्डनका विभिन्न च्यारिटी संस्थासँग मिलेर काम गरेको क्षेत्री अहिले स्वीन्डन चौतारी लायन्स क्लबको उपाध्यक्ष भएर काम गरिरहेका छन् ।






