नगेन्द्र नेम्वाङ
अल्डरसट (बेलायत) कात्तिक २५ । अल्डरसट ग्यारिजनले अहिलेको कोरोना महामारी लकडाउनमा अपनाउनु पर्ने सावधानीलाई उच्च प्राथमिकता दिँदै गत ८ नोभेम्बर आइतबार आयोजना गरेको रेमेम्बरेन्स परेडमा ग्रेटर रसमोर नेपाली समाजले पनि सहभागिता जनाएको छ ।
रसमोर बरो काउन्सिलको निमन्त्रणामा रेमेम्बरेन्स परेडमा सहभागी भई रित (पप्पी फूल) चढाएको जीआरएनसी अध्यक्ष रामधन राईले बताए ।
बेलायत तथा कमनवेल्थ राष्ट्रहरुमा प्रत्येक वर्ष नोभेम्बर ११ तारिखको नजिकैको आइतबारलाई रेमेम्बरेन्स डे मानी ल्याएको कार्यक्रम रोयल ग्यारिजन चर्च अल्डरसट नजिकै रहेको मुन्सिपल गार्डेनमा सम्पन्न भएको थियो ।
जनता र राष्ट्रका लागि सुरक्षा दिने क्रममा पहिलो र दोस्रो विश्वयुद्धदेखि लिएर अफगानिस्तान, कोशोभो, इराकका युद्धहरुमा हालसम्म ज्यान गुमाउने सैनिक तथा सिभिलियन, महिला तथा पुरुष दिवंगत आत्माहरुलाई स्मरण गर्दै सम्मानका साथ ११ बजेर ११ मिनेट जाँदा मौनधारण गरिएको थियो ।
मौनधारण गर्नुअगाडि वहालवाला सैनिक तथा अवकाश प्राप्त सैनिकका उच्च ओहोदाका व्यक्तिहरुले चर्चमा रित (पप्पी फूल) चढाएका थिए ।
अल्डरसट ग्यारिजन, रोयल ब्रिटिस लिजन, रसमोर बरो काउन्सिललगायत विभिन्न सैनिक संगठनबाट उपस्थित १६ समूहले रित चढाएको अध्यक्ष राईले बताए ।









