
नगेन्द्रराज नेम्वाङ
लन्डन कात्तिक ३० । बेलायतवासी लिम्बुहरुको प्रतिष्ठित संस्था किरात याक्थुङ चुम्लुङ यूकेको १० औं अधिवेशन एक वर्ष पछि सरेको छ ।
१४ नोभेम्बर शनिबार बसेको कियाचु यूकेको बैठकले कोरोना भाइरस लगायतले सिर्जित प्रतिकूल अवस्थामा अधिवेशन गराउन नसक्ने भएकोले आगामी सन् २०२१ को सेप्टेम्बरमा सार्ने निर्णय गरेको हो । गत सेप्टेम्बरमा सम्पन्न हुनु पर्ने साधारणसभा तथा अधिवेशन जनवरीमा सारिएको थियो । तर जनवरीमा पनि सम्पन्न नसक्ने सम्भावना देखिएकोले एक वर्षपछि मात्र अधिवेशन गर्ने बैठकले निर्णय गरेको कियाचु यूकेका अध्यक्ष तिलविक्रम सम्बाहाङ्ले जानकारी दिए ।
महासचिव गणेश इजमले अधिवेशन सारिएकोले सदस्यता नवीकरण मिति जुलाई १८ सम्म खुला रहने बताए । अधिवेशनमा उम्मेदवार बन्न र चुनावी माहोल उत्पन्न भएमा मतदान गर्ने अधिकार पाउनका लागि विगत ३ वर्ष २०१८, २०१९ र २०२० को सदसय शुल्क अनिवार्य रुपमा बुझाएको हुनुपर्ने बैठकले पारित गरेको छ ।
संरक्षक, आजीवन सदस्य लगायत शाखा अध्यक्षहरुको बाक्लो उपस्थिति रहेको बैठकमा सल्लाहकार श्री लिम्बु र सल्लाहकार नरकुमारी लिम्बुको विशेष उपस्थिति रहेको थियो ।
तिलविक्रम सम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न बैठक महासचिव गणेश इजमले सञ्चालन गरेका थिए ।






