काठमाडौं असोज ६ ।

संयुक्त राष्ट्रसंघ यूएनले अमेरिका र चीनलाई वार्ताका लागि आग्रह गरेको छ ।
पछिल्लो समय दुई देशबीच विवाद बढ्दै गएका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गरेका हुन् । उनले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन् । महासचिव गुटेरेसले अहिले देखिएको विवाद प्रारम्भिक विन्दु रहेको भन्दै शीतयुद्धको तुलनामा यसबारेमा धेरै कम पूर्वानुमान गर्न सकिने बताए ।
गुटेरेसले संयुक्त राष्ट्रसंघ महासभामा आपसी विश्वासलाई पुनस्र्थापित गरी आशालाई प्रेरित गर्न एकआसपमा सहयोगको आवश्यकता रहेको समेत उल्लेख गरेका समाचार संस्था एएफपीले जनाएको छ । अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई लिएर विवाद बढेको छ । त्रिदेशीय सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने भन्दै चीनले कडा विरोध गर्दै आएको छ ।
त्यस्तै सम्झौतामा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र अमेरिकामा रहेका राजदूतलाई फिर्ता बोलाएको छ ।






