लण्डन असोज ११ ।

एनआरएनए पोर्चुगलले आफ्ना अध्यक्षसहितका पदाधिकारीमाथि हातपात र आक्रमण भएको आरोप लगाएको छ ।
संस्थाको हालै सम्पन्न निर्वाचनमा पराजित अध्यक्ष उम्मेद्वार सोम शेर्पाको समूहले शनिबार अध्यक्ष राजन अधिकारीसहितका पदाधिकारीमाथि भौतिक आक्रमण गरेको दाबी गरिएको छ । अध्यक्ष अधिकारी, महिला उपाध्यक्ष दीपा काफ्ले, सचिव रवि अर्याल, लेखा संयोजक विशाल आचार्य, युवा संयोजक प्रकाश अधिकारी, कोषाध्यक्ष युवराज खनाललगायत कार्यसमितिका पदाधिकारीमाथि आक्रमण भएको जनाइएको छ ।
एनआरएनए पोर्चुगलका तर्फबाट जारी वक्तव्यमा घटनाको कडा भर्त्सना गरिएको छ । पराजित उम्मेद्वार शेर्पाको समूहले छलफल गर्न भन्दै बोलाएर निर्वाचित समितिका पदाधिकारीमाथि हातपात गरेको आरोप लगाइएको छ ।
‘छलफलका लागि निज शेर्पाले बोलाएको स्थान लिस्बनको अल्मेदा पार्कमा गएको बेला निज सोम शेर्पा र उनका साथमा आएका मानिसहरुले योजनाबद्ध रूपमा गुण्डागर्दीको नियतले छलफल सुरु हुनासाथ अध्यक्ष रविन अधिकारी र अन्य साथीहरूमाथि हातपात गर्दै भौतिक रूपमा आक्रमण र गुण्डागर्दी गरिएको अपराधजन्य काम र क्रियाकलापको एनआरएनए पोर्चुगल घोर भत्सर्ना गर्दछ’ वक्तव्यमा उल्लेख छ ।






