लण्डन असोज २२ ।

बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई गोरखा भूतपूर्व सैनिक संघ गेसोले बिदाइ गरेको छ ।
विहीबार साँझ गेसो केन्द्रीय कार्यालय अल्डरसटमा एक कार्यक्रमको आयोजना गरी नेपाल फर्कन लागेका राजदुत रेग्मीलाई गेसोले बिदाइ गरेको हो । गेसो सभापति कृष्णकुमार राईको अध्यक्षता र केन्द्रीय सदस्य बसुन्धरा राईको संचालनमा भएको सो कार्यक्रममा सभापति राईले गोरखा समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच गोरखाहरुको उपस्थितिमा हुन गइरहेको वार्ताका बारेमा आफ्ना भनाइ राखेका थिए ।
यसैगरी राजदुत रेग्मीले सम्बोधनका क्रममा वार्ताका लागि गठन भएको निर्देशक कमिटी नै वार्ताको लागि सर्वोच्च निकाय भएको र त्यसबाट कोही पनि दायाँ बायाँ हुन नपाउने बताए । सबैले गोरखाहरुको एकतालाई स्वीकार गरिसकेकोले एकताबाट नै सबै कुरा राम्रो हुनेमा उहाँनले विश्वास ब्यक्त गरे ।
सो अवसरमा उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदार लगायतको पनि उपस्थिति रहेको थियो । राजदुत रेग्मी यसै महिना नेपाल फर्कंदै छन् ।






