कैलाली कात्तिक ५ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी संसदबाट पारित हुने बताएका छन् ।
बाढी र पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा बिहान भएको पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले पारित हुने बताएका हु्न्। उनले एमसीसीले नेपालको कानुन मान्छु भनेकाले संशोधनको कुनै अर्थ नभएको पनि दाबी गरे ।
प्रधानमन्त्री देउवाले एमसीसीको बारेमा झुटा प्रचार भइरहेको पनि बताए । उनले बाढी र पहिरोले पूर्व र पश्चिममा धेरै ठूलो क्षति पुर्याएकाले अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन पनि दिएका छन् । प्रभावितका लागि सरकारले आकस्मिक राहत ल्याइसकेको भन्दै उनले थप क्षतिको विवरण सङ्कलन गरेर थप राहतका कार्यक्रम ल्याउने पनि बताए ।
यस्तै, महाकाली नदीले पुर्याएको क्षतिका सम्बन्धमा भारतसँग कुरा भइरहेको पनि उनले बताएका छन् । बाढी र पहिरोको क्षति अवलोकन गर्न हिजो सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवा आज काठमाण्डौ फर्किँदै छन् ।






